बर्दिबास (महोत्तरी) ८ फागुन । स्थानीय परिकार र आतिथ्य सत्कारको मैथिल परम्पराको प्रबद्र्धन गर्ने सङ्कल्पसहित तीन दिने सडक खाना महोत्सव-२०८० बर्दिबासमा सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले गत शनिबार सुरु गरेको तीन दिने महोत्सव सोमबार अबेर साँझ समापन गरिएको हो । होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेश प्रदेशका वरिष्ठ सल्लाहकार विजय झुनझुनवालाले महोत्सव अपेक्षित सफलताका साथ सम्पन्न भएको घोषणा गर्नुभयो ।

तीन दिने महोत्सवले मधेशका परिकार, आतिथ्य परम्परा सम्झाएको आयोजकको ठम्याइ छ । “मधेशको पनि खासमा प्राचीन मिथिला क्षेत्र आतिथ्य सत्कारमा संसारभरि नै प्रसिद्ध छ, हामीले तीन दिने महोत्सवमार्फत यसलाई सम्झने/सम्झाउने प्रयत्न गरेका छौं” आयोजक संस्था सङ्घका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “महोत्सवमा उत्तरको रामेछापदेखि दक्षिणको भारतीय सीमासम्म र पूर्वमा कोशीदेखि वागमती प्रदेशको हेटौडासम्मका विभिन्न ठाउँका परिकार महोत्सवमा हामीले पस्केका छौं, अवलोकनकर्ताको चासो र सहभागिताले हामीमा उत्साह भरेको छ, हामीले सेवालाई अझ गुणस्तरीय बनाउने सङ्कल्पसाथ महोत्सव सम्पन्न गरेका छौं ।”

महोत्सवमा मधेश प्रदेश र छिमेकको वागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीले थरिथरिका आआफ्नो भूगोल र स्थानीय रितिथिति झल्काउने भेषभुषासाथ सडकमै विभिन्न परिकारको स्वाद अवलोकनकर्तालाई चखाएका छन् । मुख्यतः मिथिलाका खास परिकार दहीकरी, बरीकरी, बगिया, सिद्रा, छेनाको जिलेवी, दही, घोङीजस्ता परम्परागत परिकार अवलोकनकर्ताले रुचिसाथ खाएका देखिएको छ । महोत्सवमा तयारी खानाका साथ खाद्यवस्तु पहाडमा उत्पादित मस्याम, बोडी, भटमास, सिन्कौली, गुन्द्रुक र तामासहितको राम्रो व्यापार भएको सिन्धुलीबाट यी बस्तु लिएर आएकी फिकल-२ की शोभा पहाडी बताउनुहुन्छ ।

महोत्सवका तीन दिनभरि मैथिली, भोजपुरी, तामाङ् , मगर , मगही र नेपाली भाषाका पुराना भाकाले बर्दिबास गुञ्जी रह्यो । केही दशकअघिसम्म मैथिली संस्कृति र साङ्गीतिक परम्पराको अभिन्न हिस्सा भएपनि पछिल्ला दिनमा सुन्न छाडिएका महराई, झिझिया, होरीगीत र लोकमैथिली भाकाले एकपटक फेरि आपूmहरुको गौरवपूणर् संस्कृति र परम्परा सम्झाएको बर्दिबास-१४ का परमेश्वर महतोको भनाइ छ । महोत्सवले मैथिल, भोजपुरा, मगर, तामाङ् , नेवारी र परम्परागत नेपाली परिकारबारे फरकफरक समुदायबीच अन्तरघुलन गराएको अवलोकनकर्ताको धारणा छ ।

पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर ५०० मीटर सडक दुरीमा महोत्सव आयोजना गरिएको थियो । पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास-सिन्धुली-बनेपा मार्ग) को सङ्गममै सम्पन्न गरिएको महोत्सवले खासमा बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुची बढाउन मद्दत गरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउनुहुन्छ ।

“महोत्सवबाट हामीले थप परिस्कृत हुन, अहोभावले अतिथिको स्वागत गर्न, अतिथिका रुचीबारे बुझ्न र तदनुरुप सेवा प्रवाह गर्न शिक्षा पाएका छौं” बर्दिबासस्थित होटल विनायकका सञ्चालकसमेत रहनु भएका अध्यक्ष खड्का भन्नुहुन्छ, “यो महोत्सव सिकाइ पनि बन्यो ।”

बर्दिबासमा महोत्सव सम्पन्न गरिएसँगै यसको उर्जाले आपूmहरु जिल्ला सदरमुकाम जलेश्वर, गौशाला र रामगोपालपुरसहितका अत्यन्त चल्तीका व्यापारिक केन्द्रमा यस्तै महोत्सव आयोजना गर्न उत्साही भएका होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिब नारायण घिमिरेको भनाइ छ ।’

“मुख्य कुरा हाम्रा स्थानीय पर्यटकीय सम्भावनाबारे चासो बढाउन सफल भएको ठान्छौं” घिमिरे भन्नुहुन्छ, “मुख्यपक्ष महोत्सवमा भएको उत्साहजनक सहभागिताले हाम्रा काम र सेवालाई थप व्यवस्थित गर्न हौसला दिएको छ ।” मधेशमा नाम चलेका तारे होटल र आफ्ना विशिष्ट परिकारको पहिचान स्थापित गरेका होटलमात्र हैन, निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास-११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड ऐण्ड डेरी विषयका विद्यार्थी , नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास-८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै आफ्नो सीपको बजारिकरणको अभ्यास सिकेका छन् ।

महोत्सवमा पाहुनाले स्थापित ५० वटा व्यापारिक तथा प्रदर्शनीकक्षमा २० देखि ४० प्रतिशत छुटमा परिकारको स्वाद लिनसँगै विशिष्ट साँस्कृतिक कार्यक्रमको मज्जा लिएका छन् । महोत्सवको आयोजनामा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ सहयोग प्राप्त भएको आयोजकको भनाइ छ । करिब १५ लाखको लागतमा सम्पन्न गरिएको महोत्सव ५० हजारले अवलोकन गरेका सङ्घका अध्यक्ष कार्की बताउनुहुन्छ ।

२०८० फाल्गुन ८, मंगलवार ०८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय