जनकपुरधाम : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई शहिदनगर नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । रोगीका घर-घरमा टोली परिचालन गरेर आईतवार देखि औषधि वितरण गर्न थालिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले बताए ।

‘लकडाउनको समयमा औषधी किन्न जनकपुर बजार सम्म आवत-जावत गर्न असहज भएपछि नगरपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो ।’ मेयर बरबरियाले भने, ‘चिकित्सकको प्रिकेप्सन अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले अब घरमै औषधि पाउने छन् ।’

दिर्घ रोगीलाई हाल एक महिना (३० दिन) लागि पुग्ने गरी औषधि वितरण भइरहेको छ । लकडाउन लम्बिन सक्ने सम्भावना देखेपछि दीर्घरोगीका लागि तीन महिनालाई पुग्ने गरी औषधि गोदाम गरिएको मेयर बरबरियाले जानकारी दिए । ‘औषधी सकिए पछि पुनः घरमै उपलब्ध गराउने गरी व्यवस्थापन गरेका छौँ ।’ उनले भने ।

स्वास्थ्य अभियानकै क्रममा ठूलो संख्याका दीर्घरोगी भेटिएपछि निःशुल्क औषधि वितरण गर्न नगरपालिकाले विशेष निणर्य गरेको मेयर बररियाले जानकारी दिए । ‘कतिपय दीर्घरोगीको औषधि सकिएको र धेरैले महंगो मुल्यका कारण बीचमै औषधि छोडेको पाइएपछि यो निणर्य लिएका थियौं’ उनले भने । उनका अनुसार कोरोना भाइरसको संक्रमणले दीर्घरोगीलाई बढी असर गर्ने बुझेपछि उनीहरुका लागि औषधि जोहो गर्नुपरेको उनको भनाई छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर झाका अनुसार सुगर, प्रेसर, दम, मुटु, नसा लगायत रोगका औषधि सरकारले निःशुल्क वितरण गर्ने सूचीमा पर्दैन । यस्ता औषधि महंगो समेत पर्छन् । त्यसैले किन्नु पर्दा दीर्घरोगीले बीचमै औषधि छोड्ने र रोग पालेर बस्ने गरेको समस्यालाई मध्यनजर गर्दै औषधि वितरण अभियान चलाईएको जानकारी दिए । नगरपालिकामा एउटै दीर्घरोगीले मासिक ५ हजार रुपैयाँ सम्मको औषधि सेवन गर्ने गरेको पाइएको उनले जानकारी दिए । अर्को आर्थिक वर्षपछि नगरपालिकाले दीर्घरोगीलाई निः शुल्क निरन्तर औषधि वितरण गर्ने योजना अघि सार्ने रणनीति समेत अपनाएको जनाएको छ ।

२०७७ जेष्ठ ५, सोमबार ०९:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय