झापा : झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मंगलबार सिल गरिएको छ ।

दक्षिण झापासँग सीमा जोडिएको पालिकाका १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । पालिकामा सात वडा रहेका छन् । 

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नम्बर २ मा रहेको पथरिया माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखेर पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो । 

उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा पुष्टि भएको थियो । उनीहरुलाई राखिएको क्वरेन्टीनमा समेत सिल गरिएको उहाँले बताउनुभयो ।

सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वरेन्टीनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो । 

मंगलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताउनुभयो ।

२०७७ जेष्ठ ७, बुधबार ०९:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय