दार्चुला : प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिङ्करका स्थानीयवासी खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गर्नुभएको हो । नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उहाँले माग गर्नुभयो ।

दार्चुलाका व्यास, छाङरु र तिङ्करका स्थानीयवासी बिहीबार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन् । उनीहरु चार दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीयवासी नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन् । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उहाँले माग गरेको छ ।

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो । विगतभन्दा यो पटक बढी स्थानीयवासी बसाइँ सरेका छन् । यो पटक बालबालिकासमेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन् । बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन् ।

यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए । यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमानाका बन्द भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि सांसद ठगुन्नाले सरकारसँग आग्रह गर्नुभएको छ । यहाँका स्थानीयवासीले यो पटक वैशाखमै लगाउनुपर्ने खेती पनि लगाउन पाएका छैनन् । यसकारण तत्काललाई हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने स्थानीयवासीको माग छ ।

नेपालतिर अहिले नेपाली सेनाले बाटो खोल्ने काम शुरु गरेको छ । नेपालतिर बाटो खुल्यो भने खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

२०७७ जेष्ठ १०, शनिबार १५:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय