काठमाडौं : राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेलले पदभार ग्रहण गर्नुभएको छ । आज युवा तथा खेलकूदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको सपथ खुवाएपछि परिषद्को कार्यालयमा पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

सपथग्रहण समारोहमा मन्त्री विश्वकर्माले युवालाई उद्यमशील बनाई मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले युवाका मुद्दालाई यथोचित सम्बोधन गर्ने एउटा विकास र समृद्धिको मेरुदण्डको रुपमा समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवा परिचालित गर्ने चुनौती रहेको भन्दै यसलाई पूरा गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । उहाँले आफ्ना पुराना कामलाई निरन्तरता दिँदै थप युवाका विभिन्न काममा निरन्तर रहने बताउनुभयो ।

गत जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो । यसअघि उहाँ विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त हुनुभएको थियो । उहाँको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

अघिल्लो कार्यकालमा ढुङ्गेलले ७५ जिल्लामा युवाको नेतृत्वको विकासका लागि एउटा सङ्घीय, सात प्रदेश, ७७ जिल्ला र ९१ स्थानीय तह नमूना युवा संसद्, युवालाई उद्यमतिर आकर्षित गर्नका लागि बिना धितो ऋण उपलब्ध गराउने युवा उद्यम कार्यक्रम, शैक्षिक प्रमाणपत्र आधारमा उद्योगमका लागि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याउनुभएको थियो ।

मुलुकमा ४०.३६ प्रतिशत जनसङ्ख्या युवा रहेका छन् । ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहनुभएको थियो । सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।

२०७७ जेष्ठ १६, शुक्रबार २०:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय