
बर्दिबास : महोत्तरीमा लक डाउनको समयमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको छ । महोत्तरीमा क्रियाशील संस्था जनसहयोगी युवा संजाल बर्दिबासले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दिबासको सहयोग र जनसहयोगी युवा संजाल बर्दिबासको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत सङ्कलन भएको संजालका अध्यक्ष परमेश्वर महतोले बताए । लकडाउनको समयमा बिरामी भएका लागी उपलब्ध गराउन ४० पिन्ट रगत सङ्कलन भएको उनले बताए ।
लकडाउनको समयमा रगतको अभाव भइरहेको बेला संजालले आयोजना गरेको कार्यक्रममा रक्तदान गर्ने व्यक्ति उत्साहित भएर रक्तदान गरेका छन् ।
यो समयमा रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संजालका उपाध्यक्ष पुजा साहले बताइन् ।
कार्यक्रममा उपस्थिति जनाउँदै स्थानीय पितम्बर महतोले लक डाउनको समयमा गरिइने यस्ता कार्यक्रमहरूले बिरामीको अकालमै मृत्यु नहुने बताए । सामाजिक दुरी कायम गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
जनसहयोगी युवा संजाल बर्दिबासले लकडाउनको अवधि भरमा विपतमा परेका गरिव जनताहरुको सहयोग गर्दै आएका छन् ।

