✍ रुस्मा लामिछाने
बर्दिबास : कोरोना भाइरस (कोभिड-१९) सन् २०१९ डिसेम्बरमा चीनको हुपे प्रान्तको उहान शहरबाट सुरु भएता पनि यसले अहिले विश्वभर माहामारीको रुप लिइसकेको छ । यसको प्रभाव विश्वको सबै जसो देशहरुमा परिसकेको छ । त्यसैगरी हाम्रो देश नेपाल पनि यस माहामारीको प्रभावबाट अलग रहन सकेन । भाइरसको सन्त्राससँगै नेपाल सरकारले लकडाउन गरेको पनि आज ८० दिन भइसक्यो तर यसको विरामीको संख्यामा कुनै कमी आएको छैन । संक्रमितको संख्या ४००० भन्दा बढि नाघेको छ भने एक दर्जन संक्रमितको मृत्यु भइसकेको छ ।
यहाँ रोगलेभन्दा पनि अझ बढि त भोकले मानिसको मृत्यु भएको छ । आज सम्मको तथ्याङ्कलाई हेर्दा महिला, पुरुष र केटाकेटी गरी ११०० भन्दा बढिले आत्महत्या गरेका छन् । लक डाउनको स्थितिले गर्दा मानिसले काम पाएका छैनन् काम नभए पछि गरिबको घरमा चुल्हो बल्न सकेको छैन । भोको पेट लिएर कतिञ्जेल बाँच्न सकिन्छ र ? अन्ततः मानिसले आत्महत्या रोज्न बाध्य भएका छन् । व्यापार, व्यवसाय गर्ने उद्देश्यले लिएको बैंकको ऋणकोभार, घरभाडा र कोभिड-१९ को सन्त्राससँगै बढ्दै गएको आर्थिक मन्दिले मानिसलाई थिलथिलो बनाएको छ । भाइरसको प्रभाव सबैतिर र सबैलाई परेको भएपनि अझ बढि त हुँदा खाने वर्गलाई परेको छ । आज कमायो आजै खायो गर्ने वर्ग हाम्रो समाजमा धेरै नै छन् ।
यसको प्रत्यक्ष प्रभाव यी वर्गलाई परेको छ भने हुने खाने वर्गलाई पनि उत्तिकै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको छ । मानिसमा रोग, भोक र शोकले मानसिक समस्या थपिएको छ । मानिसहरुले कोरोना राहत कोष को नाममा विभिन्न कोषहरु खडा गरेका छन् र आफ्नो-आफ्नो तवरबाट सहयोग पनि गरेका छन् । कोरोना राहत कोषमा राज्यले १० अर्ब रकम जम्मा गरेको तथ्याङ्क बाहिर आएको भए पनि जनताले सहि ठाउँमा सहि ढङ्गले राहत नपाएको गुनासो देखिन्छ ।
आवश्यक स्रोत, साधन र औषधोपचारका अभावका कारण बिरामीहरु विचल्लीमा परेका छन भने भरपर्दो कोरोना परिक्षण किटको अभावको कारण संक्रमितको मृत्यु संख्या दिनानुदिन बढ्दै गएकोले जनजीवन अस्तव्यस्त भएको छ । राज्यले दिने सेवा सुविधा नपाएर जनता सडकमा आन्दोलनमा उत्रिएका छन् भने राज्यको जिम्मेवारी बोकेका नेताहरु कुम्भकणर् झैं निदाएका छन् ।
शैक्षिक क्षेत्र बन्द भएकाले देशको कणर्धार मानिने विद्यार्थीको भविष्य अन्योलमा परेकाले अविभावकवर्ग चिन्तित भएका छन् । आफ्ना आफन्त इष्टमित्र र ख्याल ठट्टा गर्ने साथिभाईसँगको सामीप्यतालाई सामाजिक दुरी बढाएको छ । नेपाल जस्तो गरिब र अल्पबिकसित राष्ट्र्को अर्थतन्त्रमा कोभिड-१९ ले निकै प्रभाव पारेको छ । अर्थतन्त्रलाई बलियो बनाउने आधारहरु सबै ठप्प भएका छन् । अब आउने दिनहरुमा अर्थतन्त्रलाई बलियो बनाउन निकै सकस पर्नेछ । देशको अर्थतन्त्रलाई सबल बनाउने आधार भनेकै कृषि र उधोग कलकारखाना हुन् । हाम्रो देशका अधिकांश जनताहरु कृषिमा निर्भर रहेका छन् यसमा राज्यले सहयोग पुर्याउने हो भने अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई निकै कम गर्न मद्दत पुर्याउँछ र अर्थतन्त्रलाई बलियो पार्दछ ।
अन्ततः युद्घपछिको शान्ति, दुःख पछिको सुख र जन्म पछिको मृत्यु यी सबै अवश्यम्भावी हुन् । त्यसैले कोरोना भाइरसको अन्त्य कहिले होला ? भन्ने प्रश्नसँगै यसको अन्त्य पनि एकदिन हुनेछ । त्यसैले सुरक्षित रहौं, सुरक्षित बसौं ।