
बर्दिबास : महोत्तरीको बर्दिबासमा जनता आवास कार्यक्रमअन्तर्गत १४ घर निर्माण गरिने भएको छ । प्रदेश २ का प्रदेश सभा सदस्य सरदा देवी थापाले बर्दिबास–२ स्थित बुद्ध चौकमा निर्माण गरिने १४ घरको आइतबार शिलान्यास गरेका हुन् ।
शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै सांसद थापाले सदनमा पनि विभेद भयो आर्थिक वर्ष ६६/७७ मा जनता आवास कार्यक्रम अन्तर्गत मेरो नाममा ७५ घर परेको थियो तर मात्र ५० घर दिएको बताइन् । मेरो धेरै प्रयास पछि क्षेत्र १ ‘क’ मा जनता आवास कार्यक्रम अन्तर्गत जम्मा ५० वटा घरको लागि मात्र बजेट विनियोजित गरियो तर यो विभेदले गर्दा पिछिल्लो दिनहरुमा पनि विभेद पूर्ण बजेट छुट्याइन्छ की भन्ने डर रहेको उनले बताइन् । अहिले दुईवटा कोठा, एउटा शौचालय, बरन्डा, दुइवटा झ्याल र दुइवटा ढोका गरि एक घर बराबर ३ लाख ३६ हजार कुल रकम रहेकोमा स्थानीय श्रोत साधनको प्रयोग र आफैले श्रामदान गर्नुपर्ने कुरा सांसद थापाले बताइन् ।
कार्यक्रममा बोल्दै भुमी अधिकार मंचका अगुवा फौद सिंह स्यांग्वाले दलित जनजातिहरुलाई यस जनता आवास कार्यक्रमबाट जग्गा नभएकोलाई जग्गा प्राप्त गरि घर बनाई दिने र जग्गा भएकोलाई घर बनाईदिने कार्यक्रम रहेको बताए ।
यस कार्यक्रम अन्तर्गत बर्दिबास नगरपालिका स्थित वडा नं. ३ मा १५ घर, वडा नं. २ मा १४ घर, वडा नं. ९ मा ८ घर, वडा नं. १ मा १ घर र वडा नं. ६ मा १२ घर गरि जम्मा ५० घर रहेको छ ।

