सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ मा कृषि आयमा लाग्ने कर र पर्यटन शुल्क पूर्णरुपमा छुट गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा राजश्व नीति र कर प्रणाली सुधार सम्बन्धी कार्यक्रम अन्तरगत प्रदेशको समग्र कृषि क्षेत्र र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न कृषि आयमा लाग्ने कर र पर्यटन शुल्क पूर्ण रुपमा छुट हुने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
यस्तै राजश्व नीति र कर प्रणाली सुधारका लागि कोभिड—१९का कारण शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाई आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापार र लगानी बढाउन सहयोग पुग्ने गरी लगानी मैत्री वातावरण निर्माण गर्ने उल्लेख गरिएको छ । कर तथा गैर करका थप क्षेत्रहरु पहिचान र विस्तार गरी प्रदेशको आन्तरिक राजश्व परिचालनको दायरा फराकिलो बनाइने जनाइएको छ । प्रदेश सरकारले लगाउँदै आएको घरजग्गा रजिष्ट्रेशन शुल्क र सवारी साधन करका विद्यमान दरलाई कटौती गरिएको छ ।