काठमाडौँ : खाडी क्षेत्रमा अप्ठ्यारोमा परेकामध्ये ४ सय ९४ जना नेपालीलाई शुक्रबार काठमाडौं ल्याइएको छ । जसमा २ सय ३५ पुरुष र २ सय ५९ जना महिला छन् । तीमध्ये ९८ जना गर्भवती छन् । २३ वटा शव पनि ल्याइएको छ ।

कुवेतबाट शुक्रबार आइपुगेका महिला भक्तपुरको सूर्यविनायक–५ सल्लाघारीस्थित होल्डिङ सेन्टरमा जाँदै । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालका दुईवटा विमान चार्टर गरी उनीहरूलाई ल्याइएको हो भने कतार र कुवेतले आफ्नै शुल्कमा विमान चार्टर गरी पठाएका हुन् । उनीहरूलाई कोभिड संकट व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको क्वारेन्टाइन र होटलमा बस्ने व्यवस्था मिलाएको छ ।

सरकारले साउदी अरबबाट पहिलो पटक कामदार ल्याउन अनुमति दिएको हो । साउदी अरबको दमामबाट १ सय ५३ जना बोकेको पहिलो उडान शुक्रबार बिहान ७:३० बजे त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । जसमा चार जना गर्भवतीसहित आठ जना महिला छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले पहिलो उडानमा निकै अप्ठ्यारोमा परेका कामदारलाई पठाइएको बताए । साउदीमा १० हजार जनाले स्वदेश फिर्न दूतावासमा आवेदन दिएका थिए । दूतावासले प्राथमिकताका आधारमा स्वदेश पठाउन थालिएको उनले बताए । उनीहरूको आरडीटीमार्फत परीक्षण गरी ल्याइएको हो । साउदीले आरडीटीलाई मान्यता दिएको छैन, पीसीआर परीक्षण गर्न १५ सय रियाल शुल्क लाग्ने बताइएको छ ।

कुवेतले आममाफी प्रक्रियामा समावेश १ सय ५० जना घरेलु कामदारलाई जजिरा एयरलाइन्समार्फत पठाएको हो । स्वदेश आउने सबै खर्च कुवेत सरकारले नै व्यहोरेको हो । कुवेतले स्वदेश पठाउन भन्दै वैशाख १४ देखि अस्थायी क्याम्पमा राखेका महिलालाई उद्धार गर्न पहिलो प्राथमिकता दिएको नेपाली दूतावासले जनाएको छ । अस्थायी क्याम्पभन्दा बाहिर अप्ठ्यारोमा परेकालाई अझै ल्याइसकिएको छैन ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट ९४ गर्भवती महिलासहित १ सय ४८ जना आइपुगेका छन् । जसमा १ सय १ महिला र ४७ जना पुरुष छन् । नेपाली दूतावासले जेठ २३ गते पहिलो उडानमै गर्भवतीलाई पठाउने तयारी थियो । तर, अन्तिम समयमा आएर नि:शुल्क उडान भनिएको एयर अरेबियाले शुल्क लाग्ने भनेपछि दूतावासको सूचीअनुसार यात्रुको उडान भएको थिएन । त्यतिखेर एयर अरेबियाले दुबईबाट १ सय ६८ जना यात्रु ल्याएको थियो ।

चार वर्षदेखि यूएईमा कार्यरत झापाका सुवास संग्रौलाले साढे चार महिनाकी गर्भवती श्रीमती लिएर स्वदेश फिर्ने अवसर पाएको बताए । यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेका नेपाली कामदार छन् । उनीहरू आफैंले टिकटको प्रबन्ध मिलाएका हुन् । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैंले टिकटको व्यवस्था गरिदिएका थिए । स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोना परीक्षण गरिएको थियो ।

कतारबाट जेल सजायमा आममाफी पाएका ४३ जना आएका छन् । उनीहरूलाई कतार सरकारकै खर्चमा कतार एयरवेजमार्फत नेपाल पठाइएको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर ३२३४ को उडानमार्फत त्रिभुवन विमानस्थलमा १२:३६ मा काठमाडौं ल्याइएको हो ।

विमानमा कतारबाट डिपोर्ट गरिएका थप १ सय ९ जना पनि ल्याउने तयारी गरिएको थियो । तर, स्वास्थ्य परीक्षण समयमा नहुँदा जेलबाट घरफिर्ती केन्द्रमा ल्याएर राखिएका ४३ जनाले मात्रै स्वदेश फिर्न अवसर पाएका हुन् । उनीहरू विभिन्न मुद्दामा दोषी भई सजाय भोगिरहेका बेला इदका अवसरमा कतारी अमिरले माफी दिएपछि स्वदेश फिर्ने ढोका खुलेको हो ।

२०७७ असार ६, शनिबार १०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय