
काठमाडौं : पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ ।
अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले गत ११ जेठदेखि नै माइतीघरमा नियमितजसो विरोध तथा प्रदर्शनका कार्यक्रम गरिहेको छ । विरोध प्रदर्शनमा सहभागी साझा पार्टीका प्रकाशचन्द्र परियारले भने, ‘आज चारदेखि पाँच सयको हाराहारीमा मानिसहरुको उपस्थितिमा प्रदर्शन गरेका थियौँ । आन्दोलनमा मानिसहरुको सहभागिता दिनप्रतिदिन बढ्दो क्रममा छ ।’
संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए ।
आन्दोलनकारीले नवराजको पक्षमा निष्पक्ष छानविन र पीडितलाई न्यायको माग गरिहेका छन् ।