भजनी : संरचनागत रुपले हेर्दा टीकापुर अस्पताल सुविधासम्पन्न भए पनि आवश्यक जनशक्ति अस्पतालमा हुन नसक्दा अझै ती संरचनाले पूर्णता पाउन सकेको छैन । अस्पतालमा हाल सात विशेषज्ञ चिकित्सक कार्यरत छन् । टीकापुर नगरपालिकाले अस्पतालमा दुई विशेषज्ञ चिकित्सकलाई सेवासुविधा दिएर राखेको छ भने बाँकी चार चिकित्सक दरबन्दीअनुसार अस्पतालमा कार्यरत छन् । केही महिनादेखि अस्पतालले सेवाग्राहीको सेवा प्रवाहलगायत प्रशासनिक कामलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्दै गइरहेकामा आर्थिक वर्ष २०७७÷०७८ का लागि थप जनशक्ति व्यवस्थापन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेको छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले कैलालीका पूर्वी क्षेत्रमा पर्ने महुन्याल, जानकी र जोशीपुुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकालाई अस्पतालमा थप विशेषज्ञ सेवा थप्ने विषयमा छलफल गर्नुभएको छ । उहाँले एक स्थानीय तहले एक विशेषज्ञ चिकित्सकको सेवासुविधा दिन सके स्थानीयवासीले सामान्य बिरामी हुँदा पनि धनगढी, नेपालगञ्जसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । अध्यक्ष रावलले पाँच स्थानीय तहका प्रमुखसँग छलफलको प्रक्रिया अगाडि बढाएउनुभएको छ ।

आउँदो आर्थिक वर्षमा एक स्थानीय तह, एक विशेषज्ञ चिकित्सक व्यवस्थापन हुने गरी स्थानीय तहलाई बजेटको व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । ‘अस्पतालको पूँजीले मात्र विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न सकिने अवस्था छैन । सरकारले पनि दरबन्दीअनुसारको चिकित्सक व्यवस्थापन गर्न सक्ने देखिँदैन’, अध्यक्ष रावलले भन्नुभयो, ‘यहाँका स्थानीय तहको मुख्य स्वास्थ्य सेवा लिने केन्द्र टीकापुर अस्पताल नै हो । स्थानीय तहले अस्पतालभन्दा पनि विशेषज्ञ चिकित्सकलाई स्थानीय तहबाटै तलबभत्ता दिने गरी अस्पतालसँग समन्वयका लागि आग्रह गरेका छौंँ ।’

टीकापुर नगरपालिकाले आउँदो आर्थिक वर्षमा एकएक बाल विशेषज्ञ र स्त्रीरोग विशेषज्ञलाई अस्पतालमा निरन्तरता दिने गरी नीति तथा कार्यक्रममा समेटिसकेको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आउँदो आर्थिक वर्षको बजेटमा अस्पतालका लागि विशेषज्ञ सेवा विस्तार हुने गरी बजेट विनियोजन गरिने जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आवमा टीकापुर अस्पताललाई सरुवा रोग अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने गरी रु तीन करोड बजेट विनियोजन गरेको छ । हाल अस्पतालमा दुईदुई बालरोग र स्त्रीरोग विशेषज्ञ तथा एकएक एबिबिपी, फिजिशियन र डेन्टल सर्जन कार्यरत छन् ।

२०७७ असार १०, बुधबार १७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय