
जनकपुरधाम : बास्तविक अपराधिको पहिचान गरी कारवाहीको माग गर्दै धनुषामा दलित समुदायले प्रदर्शन गरेको छ । धनुषाको सबैला नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयमा शम्भु सदा मुसहर र उपचार नपाएर मृत्यु भएका राजु सदाको वास्तविक अपराधिको पहिचान गरी कारवाहीको माग सहित दलित समुदायले प्रदर्शन गरेको छ ।
धनुषाको सबैला ईलाका प्रहरी कार्यालयभित्र थुनुवा कक्षको शौचालयमा मृत भेटिएका शम्भु र प्रादेशिक अस्पताल जनकपुरमा उपचार नपाई मृत्युवरण गरेका राजुको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ । शुक्रबार जिल्लाभरीका दलित समुदालयले प्रहरी हिरासतमा हत्या हुनु तथा अस्पताल जीवनजल नपाएर मृत्युको हिसाब खोज्दै विशाल जनसभा प्रदर्शन गरेको छ ।
दलित आन्दोलनको भिडले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिन खोज्दा प्रहरीसंग झडप भएको थियो । झडपको क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा दुई महिला सहित एक पुरुषको टाउँको फुटेको थियो । सुरुमा प्रदर्शन प्रहरीले रोक्ने प्रयास गरेपनि दलितहरुको आक्रोशित भिडलाई मध्यनजर गर्दै प्रहरी पछि हटेका थिए ।
‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु र राजु सदाको हत्यारालाई फासी’ नाराका साथ भएको प्रदर्शनले नगर परिक्रमा गरेको थियो । राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले रक्षकले नै भक्षक भएर दलित जनतालाई षड्यन्त्रपूर्वक मार्न थालेपछि विभिन्न चरणको आन्दोलन सुरु गुर्नपरेको बताए । उनले भने, ‘नेपालमा बहुजात भाषा धर्म संस्कृती छ, तर बहुजाती भित्र दलित समुदायलाई तथाकथित तल्लो जात अछुत भनेर विभेद हुँदै आएको छ, जसको सिकार पछिल्लो पटक शम्भु र राजु भयो ।’
नेपाल राष्ट्रिय मुसहर संघले प्रहरी दमन मुर्दावाद, दलित माथिको हत्या हिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित, हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यसअघि न्यायको माग सहित प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
घटनालाई नजिकबाट नियालेका पच्चु माझिले शम्भु र राजु सदाको न्यायको लागि शृंखलाबद्ध आन्दोलन जारी रहने घोषणा गरे । देशैभरि दलित समुदायमाथि योजनाबद्ध ढंगबाट शृंखलाबद्ध घटनाहरु घटेको भन्दै रुकुमको जातीय नरसंहार, रुपन्देहीको अगिंरा पासी, रुपन्देहीकै सामुहिक हत्या, धनुषाको घटनाको छानविन र कारवाहीको माग गरे ।