
जनकपुरधाम : विश्वव्यापी कोरोना (कोभिड-१९) महामारी व्यवस्थापन तथा नियन्त्रणका लागि निमित्त खरिद स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता भएको पाईएको छ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत दुई सय प्रतिशत महँगो मुल्यमा सामान गरी अनियमितता गरेको पाईएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय पर्ने पीपीई सेट ६ हजार ५ सय, ५ हजार पर्ने आईआर थर्मोमिटर ८ हजार, ३ सय सम्म पर्ने एन-९५ मास्क ५ सय, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँ र १ सयदेखि बढीमा २ सय ५० सम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरी अनियमितता गरेको पाईएको छ ।
सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाण्डौं स्थित मेडी सोलुसन इन्टरनेशनल प्रालिबाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजार, आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय पीस आईआर थर्मोमिटर ३२ लाख, राइन सप्लायर्स जनकपुरबाट एन ९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजार, जेकेआरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि काठमाण्डौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क, १४ लाख ४० हजार र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।
तर मेडि सोलुसन इन्टरनेशलन प्रालिले आफू कहाँ पिपिई सेटको मुल्य १ हजार २ सय देखि बढीमा ३ हजार ५ सय सम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।
खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटमा पीपीई र थर्मोमिटर प्रति सेट ३ हजार, एन-९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मोमिटरमा १२ लाख, एन-९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार भएको पाईएको छ ।
तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले प्रक्रिया पुर्र्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरिएको दाबी गरे । उनले भने, ‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छ तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामान किनेका छौं, त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’ सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च अन्य प्रदेश भन्दा कम मुल्यमा खरिद गरिएको छ ।