काठमाडौं : सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्।

भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ। तर कुराकानी के भए भन्नेबारे बताइएको छैन। नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ। ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि वैशाख १७ मा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन उनले भूमिका खेलेको आरोप लाग्दै आएको थियो।

२०७७ असार २२, सोमबार १९:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय