रुकुम : रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हँुदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

चौबीस किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि कुचिबाङबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नहरबाट चुहिएको पानीले जमीन भिजेर गत फागुन महिनामा नहर नजीकैबाट पहिरो झरेको थियो । नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध भएर गाउँ नै अन्धकार भएपछि बिजुली बाल्न वैकल्पिक उपाय अवलम्बन गरिए पनि सम्भव नभएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै कुचिबाङका २५० घरधुरी समस्यामा परेका छन् ।

स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न तथा मोबाइल चार्ज गर्न निकै समस्या हुने गरेको स्थानीयवासी तीर्खमान रोकाले बताउनुभयो । जमीन भासिएर नहर भत्किएपछि फेरि अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताउनुभयो ।

२०७७ असार २४, बुधबार ०९:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय