नेपालवाणी / गौशाला (महोत्तरी) / अषाढ
‘बिकासको आधार सडक सबैको मूलधार’ योजना अन्तर्गत गौशाला नगरपालिकाले जिल्लाकै नमूना सडक निर्माण गरेको छ । गौशाला नगरपालिका अन्तर्गत वडा नं. १० र ११ बटौवा देखि मूल सडक जोडने नमूना सडकको निर्माण गरिएको छ ।
नगरपालिकाका प्रमुख शिवनाथ महतो (भोला) ले आफ्नो नगरपालिकालाई सुविधा सम्पन्न नमुना नगर बनाउने घोषणा अन्तर्गत २५ फिट चौडाई नमूना सडक निर्माण गरिएको बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा जनताले मलाई नगर प्रमुखका रुपमा स्थापित गरेपछि जनताको आवश्यकता बुझ्दै नगर बिकासमा लागेको छु तरपनि कतिपय कामहरु गर्दैगर्दै बाधा अवरोधले कतिपय योजना अडकिएको छ, त्यसलाई छिट्टै सञ्चालनमा ल्याउँछु ।’
नगरप्रमुख महतोले नगरमा तिन तहको योजना सञ्चालनमा रहेकोले बिकास कतिपय योजना पुरा भएको र कतिपय सञ्चालनमै रहेको जनाए । उनले भने, ‘लामो, मध्यम र छोटो अवधिमा बिकास निर्माणको कामहरु सञ्चालन गरिएको छ, नगरपालिकाका मुख्य योजना सडक, सिचांई, खानेपानी जस्ता योजनामा हामी काम गरिरहेका छौं ।’


नगरप्रमुख महतोले भने, ‘कुनै पनि आकस्मिक सेवाका लागि अतिआवश्यक दमकल र एम्बुलेन्स जस्ता साधनहरु छिटो भन्दा छिटो पुग्न सक्ने गरी सडक निमार्ण भएको छ ।’ उनले नगरपालिकाको बजेटअनपुग भएपछि थप बजेट संघीय र प्रदेश सरकारसंग माग गरेको बताउँदै प्रदेश र संघ सरकारको रकम प्राप्त भए पक्कि र कालोपत्रे सडक निर्माण दु्रत गतिमा अघि बढ्ने बताए ।
वर्षायाममा हिलो र सुख्खामा धुलो खेप्न बाध्य भएका बटौवाको सडकमा नमूना पिसिसि ढलानले गाउँले खुशी भएको स्थानीय रमेश महतोले बताए । उनले भने, ‘यो बाटो सबैभन्दा खराब थियो, तर बाटो बनेपछि हामीलाई आवत जावत देखि सबैकुरामा सहज भएको छ, बाटोलाई २० फिट चौडा गरिएको छ, नगरप्रमुख ज्युको योजनाले वर्षौदेखि अलपत्र सडक बनेको छ ।’
नगरपालिकाका ईन्जिनियर प्रबिण सिंहले जिल्लामै पहिलो नमूना पिसिसी ढलान भएको दाबी गरे । उनले भने, ‘जिल्लामा यस्तो पिसिसी ढलान भएको थिएन, यो पहिलो हो, स्थानीय तहले हाल सम्म २५ फिटचौडाई पिसिसी गरेको मेरो अनुभवमा छैन् ।’ नगरपालिकाको निर्मित सडकबाट १२ घरपरिवार लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

२०७७ असार २८, आईतवार ११:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय