
काठमाडौं : साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ। नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन हुने बताए।
साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नुअघि निर्मलीकरण गरिने उनले जानकारी दिए। बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताए। साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ ।
यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैंले गर्नुपर्ने पाण्डेले बताए। साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउने गरी बस सेवा सुचारु गरेको हो । साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सूर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।