काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उहाँले आचारसंहिता बहालमा रहँदा होस् वा अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताउनुभयो । प्रधानसेनापति थापाले भन्नुभयो, “पेशेवर र व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सङ्गठन भएकाले सेनामा आचारसंहिता पालनामा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ ।

” सकलदर्र्जालाई बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यका बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार व्यक्तिका रुपमा विकास सेनाले सबै तह र निकायमा अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो । सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनोट, आर्थिक कारोवार, लैङ्गिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुने छ ।

अघिल्लो वर्ष वैशाख ६ देखि १३ गतेसम्म ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम पहिलोपटक आयोजना गरिएको थियो । सेनाका सबै तह र संरचनामा विद्युतीय माध्यमबाट प्रत्यक्ष जानकारी लिन सक्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

२०७७ श्रावण २, शुक्रबार ०७:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय