
काठमाडौँ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरी सेवा प्रभावकारी बनाउन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बोली, बचन तथा व्यवहारमा शिष्टता कायम गर्ने निर्देशन दिँदै उहाँले अस्पतालमा देखिएका समस्या समाधानमा उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीले आफूमा भएको क्षमता र साधन स्रोतको सदुपयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आज मोलेकुलर परीक्षण एकाइ, आइसोलेशन वार्ड, डाइलासिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सघन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपीडी, फिजियो थेरापी रिहाबिलिटेशन युनिटलगायतको निरीक्षण गर्नुभयो । अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा उहाँले जानकारीसमेत लिनुभयो । उहाँले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतले कोभिड–१९ को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको भन्दै आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताउनुभयो ।