
एजेन्सी : यतिबेला अमेरिकामा नश्लीय विभेदको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । विरोधका अनेकन शैलीहरु देखिन्छन् ।तर शनिबार राति अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको विरोध प्रदर्शनमा एउटा यस्तो दृश्य देखियो, जसले सारा संसारको ध्यान खिंचेको छ ।
जब प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हावामा टियर ग्यासको धुवाँ छाड्यो, प्रदर्शनकारीहरु लाखापाखा लागे । तर त्यही बेला टाउको र मुखमा कालो टोपी र मास्क लगाएकी एक युवती निर्वस्त्र भएर एक कुनाबाट एकाएक सडकमा देखिइन् । निडरतापूर्वक अगाडी बढेकी उनी सुरक्षाकर्मी नजिक पुगेर उभिइन् ।
सडकमा तितरबितर भएका प्रदर्शनकारी मात्रै हेरेका हे¥यै भएनन् अलि पर उभिएका प्रहरीले पनि के गर्ने नगर्ने अन्यौलमा परे र केही कारबाही गर्न सकेनन् । बरु ती युवतीले भने योगका विभिन्न आसन पो गर्न थालिन् । सारा मिडियाकर्मी, सुरक्षाकर्मी र प्रदर्शनकारीको ध्यान उनीतिर तानियो र क्यामेरादेखि मोबाइलसम्मले उनको विरोधको उक्त दृश्य कैद गर्यो ।

त्यही दृश्य र तस्वीर अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल बनेको छ । धेरैले उनको विरोधको शैलीको प्रशंसा गरेका छन् भने केहीले आपत्ति पनि जनाएका छन् । सुरक्षाकर्मीका अगाडी विभिन्न आसनमा योग गरेकी उनले केहीबेरपछि सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाइन् ।
बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीको साहसप्रति धेरैले उनको प्रशंसा गरेका हुन् । अमेरिकामा भइरहेको जातीय विभेदविरुद्धको मुद्दामा उनले विरोधका लागि यो शैली अपनाएकी हुन सक्ने बताइएको छ । नग्न तर निकै शान्त हाउभाउमा सडकमा पुगेकी उनी सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् ।

पोर्टल्यान्डमा कुनै उद्देश्यका लागि यसरी सार्वजनिक स्थलमा नाङ्गै भएर उपस्थित हुनुलाई पनि राजनीतिक अभिव्यक्तिका रुपमा लिने गरिन्छ । जसलाई अमर्यादित पनि मानिन्न ।ती युवती को हुन्न भन्ने परिचय नखुले पनि सामाजिक सञ्जालमा उनलाई ‘नेकेड एथेना’ भनेर भाइरल बनाइएको छ । यसअघि सन् २००८ मा त्यही नग्न साइकल यात्रा गरिएको थियो ।

