
जनकपुरधाम : देश लकडाउन मुक्त भएको समय विना मास्क घरभन्दा बाहिर निस्कने व्यक्तिहरुलाई प्रदेश प्रहरीले मास्क उपलब्ध गराएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोभिड १९ बारे सचेतना कार्यक्रमको आयोजना गरी विना मास्क बाहिर निस्कनेहरुलाई प्रदेश प्रहरीले मास्क वितरण गरेको छ ।
आइतवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र परिक्रमा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा मास्क उपलब्ध गराइएको छ । सचेतनामुलक कार्यक्रममा बोल्दै प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले लकडाउन हटेपनि कोरोना भाइरस लिएर गम्भिरता पूर्वक सावधानी अपनाउन आग्रह गरे ।
विना कुनै मास्कको प्रयोग मानिस बाहिर आउने गरेकोले आगामी दिनमा त्यस्ता व्यक्तिहरुलाई कारवाही समेत हुने उनले बताए । प्रदेश २ को दुई वटा सहरमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको अवस्थामा समेत सर्वसाधारण त्यसलाई वेवास्ता गर्दै आएका छन् ।
यस प्रदेशमा हाल सम्म ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ९ सय ३६ जना निको भएर आफ्नो घर फर्केका छन् भने १० जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।