
- नेपालवाणी, जनकपुरधाम
वन्यजन्तुको आक्रमणबाट जनताको ज्यान जाने र वन्यजन्तु मावन बस्तीमा पसेर घरमै आक्रमण गर्ने, अन्नबाली नास गर्ने क्रम बढेपछि यहाँ मानव वन्यजन्तु बीचको द्धन्द्ध बढदै गएको छ । वन्यजन्तु तथा मानव बीच द्वन्द बढ्दै जादा मानव र बन्यजन्तुको अन्तरद्वन्द न्युनिकरणको प्रयास स्वरुप पहिलो चरणको वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ ।
प्रदेश २ को चुरे भित्र रहेका पर्ति चौर र नदी उकास जग्गाहरुलाई वनको रुपमा पूनसर््थापना गरि मानव र बन्यजन्तुको द्वन्द समाप्त गर्ने पहिलो चरण अन्तर्गत वृक्षारोपण गरिएको मिथिला वाईल्ड लाईफ ट्रष्टले जनाएको छ । प्रदेशको पूर्वमा रहेको कोशी टापु वन्यजन्तु आरक्ष देखि पश्चिममा रहेका पर्सा राष्ट्रिय निकुञ्ज सम्म आवत-जावत गर्ने वन्यजन्तु र सो क्षेत्रमा बसोबास गर्ने मानव बीचको द्वन्द न्युनिकरण तथा समुदाय सहकार्य संरक्षणमुखी अभियान अन्तर्गत कार्यक्रम सुरु गरिएको अध्यक्ष देवनारायण मण्डललले बताए ।
धनुषा जिल्लाको मिथिला नगरपालिका४ (पुष्पवलपुर) स्थित भाटीघारी सामुदायिक वन भित्र पर्तिचौरको रुपमा रहेको ३२ हेक्टर (लगभग ५२ बिघा) नदी उकास जग्गालाई प्राकृतिक वनको रुपमा पूनःस्थापना गर्ने कार्यक्रमको उद्घाटन गरिएको छ ।
भाटीघारी पूनःस्थापना परियोजना नाम दिईएको परियोजनालाई यूके स्थित छोराछोरी र जेम्मा र क्रिस मैकगघ फाउण्डेसनको सहयोग छ । परियोजनामा आवश्यक पर्ने बिरुवा र प्राबिधिक सहयोग डिभिजन वन कार्यालय, धनुषाले उपलब्ध गराएको सहायक वन अधिकृत सुरेश शर्माले बताए ।
पहिलो चरणमा २ बर्ष ६ महिना लगाएर भाटीघारी सामुदायिक वनमा ३२ हेक्टर नदी उकास जग्गालाई प्राकृतिक वनको रुपमा परिणत गर्ने लक्ष्य समेत राखिएको सामुदायिक वनका अध्यक्ष श्याम गोलेले जानकारी दिए । उनले भने, ‘स्थानिय स्तरमा पाईने र स्थानिय वातावरणमा पाईने बोटका प्रजातीहरु रोपण गरी प्राकृतिक वनको रुपमा परिणत गर्ने हाम्रो लक्ष्य छ,।’
परियोजना अन्तर्गत काठ प्रजातीका विरुवा ४० प्रतिशत र ६० प्रतिशत स्थानिय चराचुरुङ्गी र वन्यजन्तुहरुलाई आकर्षण गर्ने प्रजातीहरुका बोटबिरुवा लगाईने अधिकृत शंकर नारायण झाले जानकारी दिए । उनले भने, ‘रैथाने प्रजातिहरुलाई संरक्षण, स्थानिय स्तरबाट बोट र बिऊ संकलन गरि वृक्षारोपण गरिनेछ, चुरे क्षेत्रमा वृक्षारोपण सफल बनाउन आवश्यक तारवार सहितको घेरावेरा, सिँचाई, मल्चिङ्ग र पूनःरोपण समेत हुन्छ ।’

