
जनकपुरधाम : महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित एवं आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको संसदीय बजेटबाट दुईवटा धर्मशाला र एउटा ब्रह्मस्थानको सौन्दर्यीकरण गरिएको छ । महोत्तरीको मनरा शिस्व नगरपालिका वडा नं. ६ मा करीब डेढ कट्ठा जग्गामा एउटा सभा हल, दुईवटा शौचालय र एउटा कोठा भएको दूमुहान संगम धर्मशाला निर्माण गरिएको छ । त्यस्तै वडा नं. ७ मा एउटा कोठा, शौचालय सहितको सहनी धर्मशाला निर्माण गरिएको हो । त्यसैगरी सोही नगरपालिकाका ब्रह्म स्थानलाई समेत सौन्दर्यीकरण गरिएको छ । दुईवटा धर्मशाला निर्माणमा ७२ लाख र ब्रह्मस्थानको सौन्दर्यीकरणमा ३६ लाख रुपैया खर्चिएको जनाइएको छ।

सोमवार भएको धर्मशाला उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले राज्यमन्त्रीको प्रशंसा गर्दै भने, ‘बल्बा सरपल्लोको पुरानो इतिहास भएपनि अहिलेसम्म सो अनुसार विकास भएको थिएन । तर राज्यमन्त्री कुशवाहाको प्रयासबाट भएको यो विकास अतुलनीय र प्रशंसनीय रहेको छ ।’
जनता समाजवादी पार्टीका वडा सभापति शिव सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले विकासमा जुटेर कार्य गर्नुपर्छ, फुटेर वा विकास कार्य अवरोध गर्नेलाई समाजले साथ नदिने बताएका छन् ।

पूर्व मन्त्री यादवले आफू स्वास्थ्य मन्त्री हुँदा सबभन्दा बढी यसै क्षेत्रमा स्वास्थ्य संगठनको विस्तार गरेको कतिपय उदाहरण प्रस्तुत गर्दै भने ‘जनताको चाहना र भावना अनुसार कार्य गरेमा मात्र सबै क्षेत्रको विकास सम्भव छ ।कठिनाई धेरै होला, तर सामाना पनि हामीलाई नै गर्नुपर्छ ।’
त्यस्तै अन्य सहभागी वक्ताहरुले राजनीतिक वाद प्रतिवादको कारण यस क्षेत्रको विकास अवरुद्ध भएका थिए । तर राज्यमन्त्री कुशवाहाले विगत झै वादविवादका वावजूद क्षेत्रको विकास गरेर देखाएको छ । उनीहरुले राज्यमन्त्री कुशवाहाले राजनीतिक विवादलाई चिर्ने प्रयास गरेकोमा धन्यवाद दिंदै भने, ‘निर्वाचनमा राजनीति हुनु राम्रो हो । तर विकासमा राजनीति गर्नुको मतलव स्थानीय जनताको आकांक्षामा ठेस पुर्याउने हो । विकासमा राजनीति गर्नेको पहिचानको आवश्यकता छ ।’

सहभागी वक्ताहरुले बल्बा सरपल्लोको इतिहास अनुसार कार्य गरेमा जनता साथ छ । नत्र यही जनता सवक पनि सिखाउने छ । ‘हामीहरु विकास गर्नेको साथमा र विनास गर्नेलाई लाठी लिन तयार छौं’ उनीहरुले भने ।उद्घाटन कार्यक्रममा विभिन्न पार्टीबाट आवद्ध नेता तथा कार्यकर्ताहरुले राज्यमन्त्री कुशवाहाको संसदीय कोषबाट निर्माण भएको प्रति सन्तुष्टि जनाउँदै भने, ‘लक्ष्य अनुसार बढी कार्य भएको हो । आफूहरु प्रतिपक्षी भएपनि कार्यबाट सन्तुष्ट भएकोले धन्यवाद दिन चाहन्छौं ।’

नेपाल सरकारका पूर्व स्वस्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको प्रमुख आतिथ्य तथा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको आतिथ्यमा भएको धर्मशाला उद्घाटन कार्यक्रममा राजकुमार यादव, नागेन्द्र प्रसाद यादव, संजय चौधरी, सुनिल महतो, सत्यनारायण साह, रामबाबु यादव, गंगनदेव यादव, कौशल किशोर साह सहितका व्यक्तिहरुले विचार राखेका थिए।

