
काठमाडौं : कोभिड–१९ तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ । पछिल्ला केही दिनयता सुनको मूल्यले दैनिक उचाइको नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार एक वर्षको अवधिमै सुनको मूल्य तोलामै ३८ हजार ४०० ले बढेको हो । शनिबारसम्म सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत वर्ष साउन १७ गते सुन प्रतितोला ६० हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार पछिल्लो एक हप्तामै छापावाल सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको छ । यसै अवधिमा चाँदीको मूल्य पनि उकालो लागिरहेको छ । महासंघकाअनुसार चाँदी एक वर्षको अवधिमा प्रतितोलामा ४७० रुपैयाँले बढेको छ । अघिल्लो वर्ष साउन १७ गते चाँदी ७३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस वर्ष साउन १३ गते चाँदीको मूल्य सबैभन्दा उच्च कायम भएको थियो ।
चाँदी १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस वर्ष कोभिड–१९ का कारण कामदारहरु समयमै काममा फर्कन नसक्नु, चीन र अमेरिकाबीचको द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित हुनु तथा नेपाल सरकारले सुन आयातमा गरेको भन्सार कर वृद्धिले पनि नेपालमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ ।