
काठमाडौं : मलेसियामा कुटपिट गरिएका नेपाली सुरक्षा गार्ड र कुट्ने अर्का व्यक्ति पनि नेपाली नै भएको खुलेको छ । दुबै नेपाली भए पनि मलेसियामा भने उनीहरु अबैध रुपमा काम गरिरहेको पनि खुलेको छ । कपिलवस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेको खुलासा भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको हो ।
हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि मेलेसियासिथत नेपाली दूतावासले स्थानीय प्रहरीसँग मिलेर घटनाको छानबिन गरेको थियो । दूतावासका अनुसार पीडित र पीडक दुबै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको पाइएको छ ।
जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरिएको दूतावासले जनाएको छ ।
घटना जुलाई ७ को विहान क्वालालाम्पुरस्थित एम ३ महलमा भएको थियो । पीडक भनिएका उराउ, हुसेनका सुपरभाइजर हुन् । यसबारे मलेसिया प्रहरीले थप अनुसन्धान गरिरहेको दूतावासले विज्ञप्ति निकाली जनाएको छ ।
