
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पार्नुभएको छ । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिघै घर जान पाउने स्पष्ट पार्नुभएको हो ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो ।कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने उहाँले बताउनुभयो ।
पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि भने उद्धार उडान गरिने उहाँले बताउनुभयो । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उहाँको भनाई छ ।अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताउनुभयो ।
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो । पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारीर विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने मन्त्री भट्टराईले बताउनुभयो । परिस्थिति अनुकुल भएपछि अन्य देशहरुको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उहाँले बताउनुभयो ।