
काठमाडौं : कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ।
नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्ने निर्णय गरिएको छ। ‘यसअघि गरिएको निर्णयलाई खारेज गरिएको छ। केन्द्रीय, शिक्षण, प्रादेशिक, जिल्ला अस्पताल र निजी गरि सबैलाई कोभिड अस्पतालमा परिणत गरिएको छ’, उनले भने। यस निर्णयसँगै मुलुकभरका सबैखाले अस्पतालले कोरोना संक्रमितको उपचार गर्नेछन्। कोभिड र ननकोभिड दुबै सेवा छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्नुपर्ने छ।
काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरुमा कोरोना पोजेटिभ केसहरु बढ्दै गएको छ। सिकिस्त बिरामीले अस्पतालमा शैया नपाउने र लक्षण विहिनले शैयामा बस्ने प्रबृत्ति देखिएको छ। अबदेखि लक्षण भएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने निधो गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए। ‘लक्षणविहिन संक्रमितलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा पठाउनु पर्ने हुन्छ। लक्षण भएकाहरुलाई मात्र अस्पतालमा भर्ना गर्न सूचना पठाइसकिएको छ’, डा. गौतमले भने। हाल आईसीयूमा १ सय ३८ जना कोरोना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा १५ जना छन्।
सक्रिय संक्रमित १३ हजार नाघे
पछिल्लो चौबिस घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या अब ३२ हजार ६ सय ७८ पुगेको छ। तीमध्ये सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय २५ छ।
काठमाडौं उपत्यकामा सोमबार हालसम्मकै सबैभन्दा बढी संक्रमित पाइएका छन्। काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २ सय २४ जना संक्रमित पुष्टि भएका छन्। संक्रमितको बढ्दो संख्यासँगै सरकारी र निजी क्षेत्रले समन्वयात्मक रुपमा उपचारात्मक कार्य गर्न तयार भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले सरकार र निजी क्षेत्रलगायत सबै पक्षको सहयोग र सहकार्य भएमा कोरोना संक्रमणविरुद्ध लड्न सहज हुने बताए।
हाल जिल्लागतरुपमा ५ शय भन्दा बढी संक्रमित जिल्ला ७ वटा छन्। मुस्ताङ र हुम्लामा मात्र संक्रमित शून्य छन्। संक्रमणबाट निको हुने दर ५८ प्रतिशत छ। हालसम्म १८ हजार ८ सय ६ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट हालसम्म १ सय ५७ जनाको निधन भएको छ