
- गोपालप्रसाद बराल
बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बाल उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले बालबालिकालाई शिक्षण क्रियाकलापका साथै अतिरिक्त मनोरञ्जनका लागि बाल उद्यानको निर्माण गर्दै आएको हो । कोरोना महामारीको त्रासबीच नै गत जेठमा थालेको बाल उद्यान निर्माणको कामले गतिलिएसँगै विद्यालय परिसरको सौन्दर्य वृद्धिले स्वरुप फेर्दै गएको हो ।
विद्यालय, बजार, व्यापार र सामाजिक गतिविधिसमेत ठप्प भएका बेला कुनै रचनात्मक काम गर्ने उद्देश्यले सञ्जालमा आबद्ध युवाले विद्यालयमा बाल उद्यान निर्माणको काम थालेका थिए । “हाम्रो व्यापार व्यवसाय सबै ठप्प भए, विद्यालय पनि कोरोना महामारीको सन्त्रासले सञ्चालन हुने अवस्था रहेन”, सञ्जालका अध्यक्ष परमेश्वर महतोले भन्नुभयो, “हामीसँग स्थानीय व्यापारी, विद्यार्थी र सामाजिक गतिविधिमा उत्साहित हुने युवा जनशक्ति थियो, यसलाई सिर्जनात्मक काममा लगाउँ भनेर बाल उद्यान निर्माणको काममा जुट्यौं ।” आफ्नो काममा सबैतर्फबाट सकारात्मक चासो र सहयोग पाइँदै गइएपछि बाल उद्यान निर्माणको कार्यले साकार रुप लिएको उहाँको भनाइ छ ।
बर्दिवास–९ कै बासिन्दा इञ्जिनीयर मनोजकुमार महतोले तयार गर्नुभएको लागत इष्टिमेटसहित बाल उद्यानको प्रस्तावित नक्सा विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरेपछि गत जेठमा काम थालिएको हो । सञ्जालमा आवद्ध युवा तथा बर्दिवास–९ का केही उत्साहीत युवाले दिनरात नभनी गरेका मिहिनेतले विद्यालय परिसरको सौन्दर्य झलमलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोले बताउनुभयो ।
अहिले विद्यालय परिसरको चारैतिरका पर्खालसँगै जोडेर पूmल र अन्यबिरुवा रोपिएको पार्क निर्माण भएका छन् । विद्यालय परिसरको चौरमा माटो भरिदै छ भने शीतल छायाँदार पिपलका रुखमुनि पक्की चौतारा निर्माणको काम सम्पन्न भएको छ । कूल ५० लाखको लागतमा थालिएको बाल उद्यान निर्माणको काममा सञ्जालले हात लगाएसँगै सहयोगी हात थपिँदै गएको सञ्जालका अध्यक्ष महतोले बताउनुभयो । “हामी आफै कुटो, कोदालो बोकेर काममा लाग्यौ”, उहाँले भन्नुभयो, “कार्यस्थलमै आएर सहयोगीमनहरुले इँटा, सिमेण्ट, छडलगायत निर्माण सामग्री सहयोग गर्न थाल्नुभयो ।” आफ्नै मिहिनेतमा थालिएको काम हुँदा लागत अनुमान भित्रको श्रम खर्च सजिलै पार लाग्ने सञ्जालमा आवद्ध युवा बताउँछन् ।
झट्ट हेर्दा १७÷१८ देखि ३५ वर्ष उमेर समूहका युवा बाल उद्यान निर्माणमा घोटिएका छन् । बर्दिवास–१ कै वासिन्दा जुम्ल्याहा दिदीबहिनी गङ्गा र जमुना यहाँको बाल उद्यान निर्माणका नियमित जनशक्ति हुन् । किशोरावस्थामै रहेका दिदीबहिनीको दिनभरि गरिने मिहिनेतसँगै।साँझपख लच्छ्रप्प पसिनाले भिजेको जिउ गम्छाले पुछ्दै चौतारामा बस्दा आनन्द लाग्ने गरेको अनुभव छ । “लाग्छ, खास काममा जुटेका छौं”, कक्षा–११ की छात्रा जमुनाले भन्नुभयो, “बाल उद्यान निर्माण सम्पन्न भएपछि यहाँ स—साना नानी रमाएर खेलेको देखेपछि हाम्रो मिहिनेत बल्ल हाँस्ने छ ।” बहिनी जमुनाको कुरामा सहमती जनाउने गङ्गाको पनि रचनात्मक काममा लाग्दाको क्षणले दिने खुशीको आनन्द विशेष हुने अनुभव छ । यसअघि नेपालमा कोभिड–१९ सङ्क्रमणको प्रथम चरणमा चैत तेश्रो सातादेखि वैशाखसम्म सञ्जालमा आवद्ध युवा पूर्वपश्चिम राजमार्ग र बजारक्षेत्र वरिपरी भेटिने सडक यात्रीलाई भोजन गराउन जुटेका थिए ।
सञ्जालको कामले पशुपतिनगरका युवामा अहिले रचनात्मक कामबारे चासो निकै बढेको छ । बाल उद्यान निर्माणको कामलाई टुङ्गोमा पु¥याउन अहिले ‘मुठ्ठीदान’ अभियान थालिएको उक्त विद्यालयकै शिक्षक सुरेन्द्र महतोले बताउनुभयो । बाल उद्यान निर्माणको कार्यमा आर्थिक कमी हुन नदिन यो अभियान शुरु गरिएको हो । यस अभियानअन्तर्गत कार्यस्थलमै पुगेर वाईसेवामार्फत ‘मुठ्ठीदान’मा सरिक हुन सकिने बाल उद्यान निर्माण कार्यमा जुट्नु भएका महतोले बताउनुभयो ।
बाल उद्यान निर्माणको काम अहिले ६० प्रतिशत पुरा भएको छ । सो उद्यानमा उर्बर माटो भर्ने, बिरुवा सङ्कलन र रोपण गर्ने तथा बालबालिकाका लागि खेल र मनोरञ्जनका सामग्री व्यवस्थापनको मुख्य काम बाँकी छ । अब ‘मुठ्ठीदान’ र अन्य सहयोगी अभियानले यो काम चालू आर्थिक वर्षभित्रै पूरा गर्ने सञ्जालको अठोट छ । “अबको नयाँ शैक्षिक–सत्र ९२०७८० को प्रारम्भदेखि नै स्कूले बालबालिका उद्यानमा रमाउन सक्नेछन्” सञ्जालका अध्यक्ष महतोले भन्नुभयो ।
यसैबीच सञ्जालले अहिलेसम्मको आम्दानी खर्च विवरण पनि सार्वजनिक गरेको छ । बाल उद्यान निर्माणमा हालसम्म रु २० लाख ६४ हजार २७० खर्च भएको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले फाँटवारी सार्वजनिक गर्नुभयो । तीमध्ये रु १४ लाख ९१ हजार ३१३ सहयोगीहरुबाट प्राप्त भएको र बाँकी रु पाँच लाख ७२ हजार ९५७ तिरोतारो रहेको छ । बाल उद्यान निर्माण गर्न सहयोगीले निर्माण सामग्री (सिमेण्ट, इँटा, छड) र नगद दिँदै आएका छन् । सञ्जालले बाल उद्यान निर्माण थालेसँगै विद्यालयमा थप भौतिक पूर्वाधार बढाउँदै लाने बर्दिवास नगरपालिकाले जनाएको छ । यस क्रममा दुई तल्लाको आठ कोठे भवन निर्माण सम्पन्न भएको छ भने थप भवन निर्माणको चरणमा छ ।