काठमाडौं : नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सबिन थपलियाले जानकारी दिए। काठमाडौंका पुरुषमा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो।
उनी सुगर र प्रेसरका बिरामी रहेको अस्पतालले जनाएको छ। २० वर्षीया युवती भने ‘एसएलई’ बाथ रोग र मृगौला रोगबाट पीडित थिइन्। उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो। यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भक्तपुर मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए। पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पनि एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा आज विहान सवा ९ बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा ज्वरो र श्वासप्रश्वासका साथै उच्च रक्तचापको समस्या थियो। रुपन्देहीकै भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी–५ की ६५ वर्षीया महिलाको गएराति पौने १० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए। यस्तै, पर्साको वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिम्रौनगढका ९७ वर्षीय पुरुष रहेका छन्। गत आइतबार अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा नारायणी अस्पतालमा गएराति १ बजे मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरजकुमार सिंहले जानकारी दिए। भदौ १२ गते स्वास्थ्यमा समस्या भएर वीरगन्जको तराई अस्पताल पुगेका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।