सर्लाही : निषेधाज्ञाका कारण थोक तरकारी बजार बन्द भएपछि व्यापारीहरु तरकारी खरिद गर्न किसानको तरकारी खेतमै पुग्न थालेका छन्। यसअघि लकडाउनको समयमा तरकारी बेच्न नपाएर खेतमै कुहिँदा निराश भएका किसान यसपटक भने निषेधाज्ञाको अवधिमा खेतबाटै तरकारी बिक्री गर्न पाउँदा खुसी भएका छन्।

व्यावसायिक रुपमा तरकारी खेती हुने लालबन्दी, हरिवन र बरहथवा, बागमती, ईश्वरपुर लगायतका गाउँ–गाउँबाट तरकारी बिक्री भइरहेको हो। अहिले घिरौला, बोडी, भिण्डी, झिङ्नी, परवल, लौका, भन्टालगायतका तरकारीको सिजन हो। निषेधाज्ञाका बेला पनि तरकारी बेच्न समस्या नभएको किसानहरु बताउँछन्।

व्यापारीले गाउँमै आएर तरकारी किनेर लगिदिँदा सजिलो भइरहेको बरहथवा नगरपालिका–५, हाथीडण्डाका किसान बृजु महतोले बताए। निषेधाज्ञाले बजार बन्द भए पनि तरकारीको राम्रै मूल्य पाइरहेको उनको भनाइ छ। तरकारी व्यापारी भिखारी साहले दुई साताअघिदेखि बजार बन्द भएपछि गाउँ–गाउँमा गाडी लगेर तरकारी खरिद गरिरहेको बताए। किसानबाट खरिद गर्ने तरकारी गौर, वीरगञ्ज, जनकपुर, विराटनगर, काठमाडौंलगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको छ। चैत, वैशाखको लडकाउनमा बाहिर तरकारी लान सकिएको थिएन।

यसपटक तरकारी निकासीमा कतै पनि अवरोध नरहेको साहले बताए। तरकारी निर्यात सहज भएपछि किसानबाट पहिले झैँ तरकारी खरिद गरिरहेको व्यापारी उनको भनाइ छ। सर्लाहीको सबैभन्दा ठूलो लालबन्दी थोक तरकारी बजारसहित अन्य थोक तरकारी बजार बन्द रहेका छन्। खुद्रा तरकारी बजार भने खुलिरहेका छन्। तर सम्बन्धित स्थानीय तह र प्रहरीले भीडभाड हुन दिएको छैन।

२०७७ भाद्र १९, शुक्रबार ०७:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय