एजेन्सी: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू)सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् ।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने उनले बताए ।

हाल बेलायती अधिकारीहरु र युरोपेली युनियनका वार्ताकारहरुबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियनबीचको व्यापार तथा अन्य विषयमा वार्ता जारी छ ।

तर, यो वार्तामा ठोस प्रगति हुन सकेको छैन । दुबै पक्ष आ-आफ्ना अडानमा रहेकाले पनि वार्तामा प्रगति हुन नसकेको हो ।

प्रधानमन्त्री जोन्सनले युरोपेली वार्ताकारहरुले आफ्नो अडानमाथि पुनर्विचार नगर्ने हो भने बेलायतले युरोपेली युनियनसँग वार्ता गर्नुको कुनै अर्थ नहुने पनि बताए ।

बेलायत गत जनवरी ३१ मा युनियनबाट बाहिरिएको थियो । युनियनमा हाल २७ मुलुक सदस्य छन् । राजनीतिक रुपमा ब्रेक्जिटमा सहमति भए पनि ११ महिनाको संक्रमणकाल अवधि आगामी डिसेम्बर ३१ मा समाप्त हुँदैछ ।

सम्झौता हुन नसके बेलायत र इयुबीच कर र अन्य आर्थिक रोकावटको समस्या उत्पन्न हुनेछ । बेलायतका लागि इयु सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो ।

प्रधानमन्त्री जोन्सनले अस्ट्रेलियासँग भएजस्तै व्यापारिक सम्झौता इयुसँग भए पनि आफूलाई कुनै आपत्ति नरहेको बताउँदै यस्तो सम्झौताबाट बेलायतको अर्थतन्त्र अझ सबल हुन सक्ने दाबी गरेका छन् ।

बेलायतका प्रमुख वार्ताकार डेभिड फ्रस्टले आफ्ना इयु समकक्षी मिसेल बार्नियरसँग लन्डनमा मंगलबारदेखि वार्ता गर्दै छन् । उनीहरुबीच योसमेत गरी आठौं चरणको मध्यस्थता वार्ता हुन लागेको हो ।

२०७७ भाद्र २२, सोमबार १२:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय