महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलेको छ। शक्ति र पैसाको बलमा चौधरीले नेपाली नागरिकता लिएको थाहा लागेको हो। वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा पनि छानबिन भने अगाडी बढेको छैन। स्थानीय हरिषचन्द्र ठाकुरले उनीविरुद्ध ०७६ फाल्गुन ६ मै प्रशासनमा उजुरी हालेका थिए। तर हालसम्म उजुरीमाथि सुनवाई नभएपछि प्रशासनमाथि नै स्थानीयले शंका गर्न थालेका छन्। भारतीय मतदाता नामावलीमा जितेन्द्रको फोटोसहितको विवरण। यो नामावलीमा निजको बुबाको नाम हीरा चौधरी​ उल्लेख छ।  उजुरी परेलगतै ०७६ फाल्गुण ८ मा उनको नाममा जिल्ला प्रशासन कार्यालयले पत्र काटेको थियो। तर त्यसपछि उनीमाथिको कारबाही प्रक्रिया रोकिएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले आफू आएपछि नक्कली नागरिकताका विषयमा परेको उजुरीबारे अनुसन्धान अगाडी बढाएको बताए। उजुरी परेको ७ महिनामा पनि किन अनुसन्धान अगाडी बढेन भन्ने जिज्ञासामा उनले भने, ‘म आएलगत्तै उजुरी विषयमा अनुसन्धान थालेको छु। आज फलो गर्छु। नक्कली ठहर भएमा निजमाथि कारबाही हुन्छ।’ उजुरीमा के छ ? रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्षमा निर्वाचित चौधरी नेपालमा जन्मेका होइन्। उनी भारत विहारको सीतामढी जिल्लास्थित सिरसिया बजारका स्थायी बासिन्दा हुन्। तर नक्कली कागजात पेश गरेर उनले नेपाली नागरिकता प्राप्त गरेका छन्। नेपालको निर्वाचन आयोगले तयार गरेको मतदाता नामावली, जहाँ जितेन्द्रको बाबुको नाम अनिल कुमार लेखिएको छ। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए। उनी भारतीय नागरिक रहेको सबै प्रमाण रामगोपालपुरका ठाकुरले दिएको उजुरीमा सामेल रहेको बताइएको छ।

ठाकुरले चौधरी भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा रहेको फोटोसहितको प्रमाण पेश गरेका छन्। भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ। नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी बनाएको छ। उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदान गरेको समेत उजुरीकर्ता ठाकुरको दावी छ। नेपाली नागरिक नै हुँ : वडाध्यक्ष वडाध्यक्ष चौधरीले भने आफू नेपाली नागरिक भएको दावी गरेका छन्। उनले संचारकर्मीसंग भने , ‘मेरो विषयमा अनेक टिकाटिप्पणी भइरहेको छ। तर म नेपाली नागरिक हुँ।’ उनले आफूसँग भारतको नागरिकता नरहेको दावी गरे। ‘म यदी भारतीय नागरिक हुँ भने बैंकमा खाता होला। भारतको आधार कार्ड होला। उजुरी परेकै छ। अनुसन्धानबाट स्पष्ट भइरहाल्छ नि! आरोप लगाएर हुन्छ ?’

२०७७ आश्विन १२, सोमबार १९:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय