
एजेन्सी । कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक कारमा देखिएका छन् ।
ट्रम्पको स्वास्थ्यवस्थालाई लिएर अनेकखाले अड्कल काट्न थालिएपछि उनले आफू स्वस्थ रहेको भन्दै शुभेच्छुकसामु कारमार्फत सार्वजनिक भएका हुन् । कारमा मास्कसहित देखिएका ट्रम्पले शुभेच्छुकलाई हात हल्लाएका छन् ।
ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र फेरि वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरको प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्देश दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए ।
उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताउँदै भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें, पछिल्लो भोगाई मेरो वास्तविक विद्यालय हो ।’
उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र छिट्टै नियमित अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।