तनहुँ । सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा पन्ध्र श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको उहाँले बताउनुभयो । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । पुरानो कारागार भवनलाई ब्लक ‘ए’ र नयाँ भवनलाई ब्लक ‘बी’ गरी नामाकरण गरिएको उहाँले बताउनुभयो । कारागार परिसरमा तीन भवन निर्माण पश्चात कैदीबन्दीलाई सहज भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।