
कलैया : बाराको सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा बुधबार राति प्रहरी र स्थानीयबीच भएको झडप विषय बारे बुझन प्रदेश-२ सरकारबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा र आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव लगायतका टोलीले स्थलगत अनुगम गरेका छन् ।
बारा जिल्ला प्रदेश सभा क्षेत्र २(ख)का प्रदेश सभा सदस्य बच्चा राउत अहिर, सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष बबिता यादव, जसपा नेता धर्मबिर यादव लगायतका युवाहरूको उपस्थितिमा घटना बारे स्थलगत अनुगमन गरिएको छ ।
प्रहरीको गोली लागेर सुवर्ण गाउँपालिका–२ का १४ वर्षीय रन्जन कुमार यादव घाइते भएका थिए । उनको टाउकोमा गोली लागेको छ स्थानीय एसआर अस्पतालमा उनको उपचार हुन नसक्दा थप उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाराले प्रशासकीय अधिकृत सुरेन्द्र यादवको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल १२ नम्बर गण नेपालका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान कार्यालय बाराका शोभाकान्त चौधरी रहेका छन् ।



