काठमाडौं : सत्तारुढ नेकपामा अध्यक्ष पुष्पकमल दाहालले एकतर्फीरुपमा सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डको बोलचालै बन्द भएपछि एकतर्फी रुपमा प्रचण्डले बैठक बोलाउन लागेका हुन् । बैठक धुम्बाराहीस्थित नेकपा मुख्यालयमा डाक्ने तयारी छ । यसअघि पार्टीका सबैजसो बैठक बालुवाटारमा राखिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव नेपाल लगायतलाई पालैपालो बोलाएर एक्लाएक्लै छलफल गर्न चाहे पनि प्रचण्डले मानेका छैनन् । गएको दुई सातामा माधव नेपाल दुईपटक बालुवाटार गएका छन् ।

नारायणकाजी श्रेष्ठले त सचिवालय बैठक बोलाउन प्रचण्डलाई लिखित निवेदन नै दिएको स्रोतले जनाएको छ । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पनि ओलीबेगरकै बैठक बोलाउन प्रचण्डलाई दबाब दिएको बुझिएको छ । त्यही बैठकले नेकपामा निकै अप्रिय निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

पछिल्लो समयमा नेकपाभित्र एकले अर्को पक्षलाई सिध्याउनका निम्ति घटनाक्रम तीब्र विकास भइरहेका छन् । यही साताभित्र सचिवालय बैठक बस्ने र त्यसले स्थायी तथा केन्द्रीय कमिटीको पनि टुंगो लगाउन सक्ने प्रचण्ड पक्षीय एक नेताले बताएका छन् ।

उनका अनुसार, ओलीलाई अनुशासनको कारवाही गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकाल्ने गरी गृहकार्य भइरहेको छ । यही बीचमा प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने तयारी छ ।

२०७७ कार्तिक १५, शनिबार १९:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय