काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्।
प्रचण्डलाई भेट्न खुमलटार पुगेकी होउ यान्छीले पार्टी विवाद समाधानका लागि भूमिका खेल्न आग्रह समेत गरेकी छन्। नेकपाको विवाद बढेसँगै आफ्नो सक्रियता पनि बढाएकी राजदूत यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेकी छन् ।
यान्छीको सोमबार बिहान प्रचण्डसँग करिब आधा घण्टा छलफल भएको थियो । प्रचण्ड निकट एक नेताले भने,‘यान्छीले यतिबेला पार्टी विवाद अन्त्य गर्नुहोस्, विवाद अन्त्यका लागि नेताहरुलाई भूमिका खेल्नुहोस् भन्नु स्वाभाविक हो। अध्यक्ष प्रचण्डलाई पनि त्यो अनुरोध गर्नु भएको छ।’
जवाफमा प्रचण्डले आफू पार्टी एकताकै पक्षमा रहेको र हाल देखिएको समस्या समाधानको विकल्पको खोजी गरिरहेको बताएका थिए। यता प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले राजदूत हाउ आफ्ना देशका राष्ट्रपति सी जिन पिङको पुस्तक दिन, चाँडपर्वको शुभकामना प्रदान गर्न र दुई देशका पार्टीका सम्बन्धमा सामान्य छलफल गर्न आएको बताए।
“यो सामन्य शिष्टाचार भेट हो । भेटमा सामान्य कुराकानी मात्रै भयो । पार्टीभित्रको विवादबारे प्रवेश नै भएन,” सापकोटाले जिकिर गरे ।