
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले महोत्तरीमा प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ । एम्नेस्टी इन्टरनेसनल, नेपालले बिहीबार यो घट्नाबारे प्रतिक्रिया जनाउँदै भनेको छ, ‘नेपालमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरूद्वारा मृत्यु र गम्भीर घाइते हुनेगरी प्रदर्शनकारीमाथि बलको अत्यधिक प्रयोग गरेको यो अर्को घट्ना एकदमै चिन्ताजनक छ ।’
महोत्तरीको बर्दिबास–६ की ६ वर्षीया गुलाब साह खातुनको हत्यारालाई कारबाहीको माग राखेर भएको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।
एम्नेस्टीले यो घट्ना छानबिन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेसनल, नेपालका निर्देशक निराजन थपलियाले भने, ‘यो घटनाको तत्काल छानबिन गरिनुपर्दछ र यसमा जिम्मेवारलाई जवाफदेही बनाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कदम चालिनु पर्दछ ।’