काठमाडौं : मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएका हुन् ।

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् ।

सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिएकी छन् ।

विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनकि गर्ने गरेको छ । मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ ।

विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत थियो । विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो शुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद्को भनाइ छ ।

महाशाखाका अनुसार नेपालमा बिहीबार र शुक्रबार उच्च पहाडी/हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रबार रातिबाट भने केही सुधार आउने छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, बागमती र गण्डकीमा मौसम सामान्य बदली हुनेछ ।

केही पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७७ मंसिर १२, शुक्रबार ०८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय