
महोत्तरी : बर्दिवासमा वलात्कारपश्चात हत्या भएको वालिका र प्रहरीको गोली लागि मृत्यु भएको परिवारलाई प्रदेश नं. २ का सरकारले राहत उपलब्ध गराउनेभएको छ । वुधबार वर्दिवास आउनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पिडित परिवारलाई जनही ५ लाख रकम राहतस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
मन्त्री यादवले प्रहरीको गोली लागि घाईते भएकालाई उपचार खर्च वापत जनही एक लाखका दरले रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । त्यस्तै मृतक संजय न्यौपानेको दुई छोरीलाई मुख्यमन्त्री वेटी बचाउ, वेटी पढाऔ अभियान अन्र्तगतमा रहि निःशुल्क रुपमा अध्ययन गराउनेमा सहयोग गरिने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभएको हो ।
प्रदेश सभा सदस्य शारदा देवी थापाले प्रदेशसभामा पहल गरेपछि पिडितको समस्याको बारेमा प्रदेश सरकारकातर्फबाट मन्त्री यादवले सम्बोधन गर्नुभएको हो । सो सम्बन्धमा आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयले शिफारिस गरेपछि सो रकम उपलब्ध हुने प्रदेशसभा सदस्य थापाले उज्यालोलाई बताउनुभयो । आवश्यक कागजात तयार हुने लगतै सो रकम पिडितले पाउनेमा प्रदेश सभा सदस्य थापाले विश्वस्त हुनुभयो ।