
‘कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बिहीबार अपाङ्गता जनकनन्दनी गाउँपालिकाले मनाएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित समारोहमा गाउँपालिका उपाध्यक्ष भारती कार्कीले स्थानीय तहलाई सकेसम्म अपाङ्गमैत्री बनाउन लागि परेको बताईन् ।
गाउँपालिका उपाध्यक्ष कार्कीले अपाङ्ग, अशक्त व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै फरक सामथ्र्य भएका व्यक्तिहरुको सेवा सुविधा छिटोछरितो गर्ने/गराउन आफुहरु तत्पर रहको बताईन् । ‘अपाङ्गता, अशक्त वा जेष्ठ नागरिकलाई हामीले पहिलो चरणमा सेवा दिईरहेका छौं, वहाँहरु हाम्रो परिवार, समुदाय तथा गाउँटोलकै कोही हुन सक्ने भएकोले उनीहरुको परिस्थितिलाई मध्यनजर गर्दै छिटो छरितो सेवाका लागि तत्पर हुनुपर्छ ।’ उनले भनिन ।
कोरोना भाइरस सक्रमण महामारीको अवधिमा अधिकांस अपाङ्गता भएका व्यक्तिको रोजगारी गुमेकोले तिनको रोजगारी सुनिश्चिताका लागि तीन तहकै सरकार लाग्नुपर्नेमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अयोधि दासले जोड दिए । उनले भने, ‘अपाङ्ग-अशक्त व्यक्तिलाई रोजगारको अवसरसंगै प्रोत्साहनको आवश्यकता भएकोले हामीले त्यसतर्फ समेत जोड दिनुपर्छ ।’
कार्यक्रममा सहभागि वडा अध्यक्ष धर्मेन्द्र कुमार गाईत, हरिश्चन्द्र कामत केवट, अशोक कुमार मण्डल, विक्रम यादव सहितका वक्ताहरुले अशक्तता भएका व्यक्तिहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रुपमा कार्यक्रम लागु हुनुपर्ने माग गरे । गाउँपालिकाका पोषण संयोजक भरत चौधरीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा विशेष आमन्त्रित अपाङ्ग संघका प्रतिनिधि काशि कुमार पासमान सहित दुईसय जनालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै अशक्त मध्ये आवश्यक भएका दुईजनालाई व्हीलचेयर प्रदान गरिएको थियो ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको अपाङ्गता व्यक्तिहरुको गुनासो थियो । महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणनागरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।