जनकपुरधाम : धान खेतमा लाइसेन्स फालिएको एक महिना बितिसक्दा समेत सरोकारबाला निकायले दोषी पत्ता लगाउन सकेको छैन । उनीहरूले छानबिन समिति गठन गरी छिट्टै दोषी पत्ता लगाउने भनेपनि घटनाको एक महिना बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको हो। कात्तिक १२ गते कार्यालयको पछाडिपट्टी रहेको धान खेतमा ३ सय ३० थान स्मार्ट लाइसेन्स फालिएको अवस्थामा फेला परेको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयले र उसको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधामले छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्ने बताएका थिए । तर, घटनामा कर्मचारीको कमजोरी र बीचौलियाको हैकम देखिएकाले सरोकारबाला निकायले नै घटनाको ढाकछोप गरिरहेको देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम अधार साहले यातायात कार्यालयले बुझाएको प्रतिवेदन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन गरिरहेको बताए । कार्यालयले बुझाएको प्रतिवेदनमा दोषी यकिनसाथ पहिचान नभएको भन्दै मन्त्रालयको समितिले दिने प्रतिवेदनमा यकिन हुने उनले आश्वासन दिए ।

मन्त्रालयको प्रतिवेदन बन्ने क्रममा रहेको भन्दै प्रतिवेदनको अधारमा दोषीलाई कारवाही हुने उनले दावी गरे। यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख चन्देश्वर साहले कार्यालयले अधिकृत पवन पञ्जियारको संयोजकत्वमा गठीत तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिए । ‘कार्यालयलाई बदनाम गर्ने नियतले यस्तो काम भएको देखिएको छ । कार्यालय बदनाम होस् भन्ने नियतले कर्मचारीले नै लाइसेन्स खेतमा फालेको हुनसक्छ,’ उनले अनुमान गर्दै भने, ‘प्रतिवेदनमा पनि दोषी यकिन साथ पहिचान हुन सकेको छैन । तर, कर्मचारीको लापरवाही, कमजोरी देखिएको छ ।

यसलाई सुधार गर्दै जाने र अव त्यस प्रकारको घटना हुन नदिन उपायहरू बारे उल्लेख भएको छ ।’ काठमाडौंबाट स्मार्ट लाइसेन्स बुझेर ल्याएपछि दर्ता गररे स्टोरमा दाखिला हुनुपर्ने व्यवस्था छ । तर, कार्यालयमा त्यसको दर्ता नभएको उनले बताए । कोरोना महामारी शुरु भएको बेला नै काठमाण्डौबाट उक्त लटका लाइसेन्स आएको भन्दै त्यतिबेला स्टोरमा रहेका कर्मचारीको सरुवा भएको हुनाले दाखिला नभएको उनको भनाइ छ ।

कार्यालयको पछाडिपट्टी रहेको धान खेतमा लाइसेन्स फालिएको थियो। धान काट्न गएका महिलाका छोराछोरीहरू धान खेतमा रहेको लाइसेन्स लिएर खेलिरहेको अवस्थामा कार्यालयमा रहेका सेवाग्राहीले नै देखेपछि हल्ला भएको थियो। त्यसपछि कार्यालयबाट कर्मचारीहरू गएर ती स्मार्ट लाइसेन्स संकलन गरेर कार्यालयमा ल्याएका थिए ।

२०७७ मंसिर २०, शनिबार ०८:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय