
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओलीको सर्वसत्तावादविरूद्ध काँग्रेस सडकमा आएको बताएका छन् । काँग्रेसद्वारा विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले ओलीले सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए ।
उनले आफूहरूले तीन वर्ष चुप लागेर बसेको बताए । ‘हामी तीन वर्षसम्म चुप लाग्यौं, सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका हौं,’ कोइरालाले जनआन्दोलन चोकमा आयोजित कोणसभामा भने ।
कोइरालाले अहिलेको सरकार सञ्चालनको शैली नै ठिक नभएको बताए । उनले अबको चुनावपछि कांग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए । उनले पिता बिपीले राजनीति गरेको ठाउँमा आएर आन्दोलनको नेतृत्व गर्न पाउँदा खुसी लागेको बताए ।