जनकपुरधाम : डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस शहिदनगर नगरपालिकामा भव्य रुपमा मनाईएको छ । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने क्रममा धनुषाको शहिदनगर नगरपालिकामा प्रमुख उदय कुमार यादव (बरबरिया)ले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन् ।

२१ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउने समेत जानकारी दिए । नगर प्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्था समेत गरिने बताए ।

यस अघि कोरोना संक्रमण चरणमा भारतको पञ्जाबबाट काम गरेर फर्किएका वीरेन्द्र गुरमैताको नेपाल-भारत सीमा जटहीमा मृत्यु भएको स्मरण गर्दै उनको परिवारलाई १ लाख रुपैयाका साथै क्रिया खर्च समेत उपलब्ध गराएको बताए । उनले भने, ‘नेपालीको वैदेशिक रोजगारी सुरक्षित र भरपर्दो हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । जाने क्रममा मात्र होइन, गन्तव्य देशमा पुगेपछि पनि नेपाली श्रमिक ठगीमा परेका छन् । कतिपय बिचल्लीमा परेर रित्तो हात फर्किएका छन् त कतिपय कमाएर नै फर्किएका छन् । तर भएको के छ भने वैदेशिक रोजगारीमा श्रमिक पठाउने व्यवसायी र एजेण्टहरु सुध्रिएका छैनन् । विभिन्न देशमा शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम समझदारी भए पनि म्यानपावर र तिनका प्रतिनिधिले श्रमिकसँग खाडीकै देश पठाउन पनि लाखौं रुपैयाँ लिएकै छन् ।’

आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजना भएको सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य श्रवण बरबरियाले बैदेशिक रोजगार सुरक्षित गर्नका लागि नगरपालिकाले खेलेको भुमिकालाई सराहना गरेका थिए । उनले भने, ‘विदेशबाट आएको रेमिटान्सको पैसा उत्पादन मुलक क्षेत्रमा लगानीको आवश्यकता छ । अहिले उत्पादक भन्दा अनुत्पादक क्षेत्रमा रेमिटान्सको दुरुपयोग हुँदा त्यसको उचित प्रतिफल पाउन सकेको छैन् ।’

कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिटैन्सले धानीरहेको बेला आप्रवासी कामदारहरुको विषयमा कुनै पनि सरकार जिम्मेबार नहुनु दुःखद रहेको बताए । उनले शहीदनगरले बजेट छुट्टयाएकोमा नगरप्रमुख उदय बरबरियालाई धन्यवाद ज्ञापन गर्दै धनुषाका अन्य पालिकाहरुलाई समेत आप्रवासी कामदारहरुको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे ।
नेपालमा धनुषा जिल्लाबाटै सबै भन्दा बढी युवाहरु वैदेशिक रोजगारमा रहेपनि सबै भन्दा बढी रेमिटैन्स झापा जिल्लामा आई रहेको तथ्यांक छ । धनुषाका बढी युवा वैदेशिक रोजगारमा रहेपनि रेमीटैन्स किन कम आईरहेको छ भन्ने विषयमा सोच्नै पर्ने बेला आएको सहभागी वक्ताहरुले बताएका थिए ।

सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रियस्तरमा आप्रवासी कामदार र तिनको परिवारको हक अधिकारका लागि संयुक्त रुपमा आवाज उठाउने गरी १९९० को डिसेम्बरमा महासन्धी पारित गर्‍यो । रोजगारी र जीविकोपार्जनका लागि परदेश जानेहरु जुन देशमा पुगेका छन्, त्यही देशको कानुन अनुसार उनीहरुले पनि सेवा सुविधा पाउनुपर्ने राष्ट्रसंघको सन्धीले व्यवस्था गरेको छ । त्यही अवसर पारेर सन् २००० देखि हरेक वर्ष १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवस भनेर मनाउन थालिएको हो ।

२०७७ पुष ३, शुक्रबार १९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय