
काठमाण्डौ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामामा पूर्व माओवादी खेमाका २ मन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टको नाम भने सामेल छैन ।
‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ संयुक्त राजीनामा पत्रमा भनिएको छ ।
राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन् ।
मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिश गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।