काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि विरोध प्रदर्शनको आयोजना गरेको राप्रपाले राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको पार्टी अध्यक्ष कमल थापाले बताए ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरू भएको र्याली रत्नपार्क पुगेर सभामा परिणत भएको छ। रत्नपार्क पुगेको सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका हुन्। प्रतिनिधि सभा विघटनले संवैधानिक जटिलता ल्याएको भन्दै थापाले भने, ‘नेताहरूको कारणले मात्र यो अवस्था आएको होइन। यसको मुख्य कारण १४ वर्ष अगाडि सुरु गरिएको विचार र बाटो गलत भएको छ।’
देशको संकट समाधान र मुक्तिका लागि राजादेखि विप्लव माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न राजनीतिक दललाई उनले आग्रह गरे। देश तथा धर्म संकटमा परेका बेला आफ्नो पार्टीले सडक तताउनु परेको थापाको भनाइ छ। थापाले भने, ‘यो बेला हामी टाउकोमा कफन बाँधेर आएका छौं। यसलाई चेतावनी नसम्झिनु होला।’ नेपालको अस्तित्व कायम राख्नका लागि हिन्दुराष्ट्र कायम र राजसंस्थासहितको लोकतन्त्र नै उचित हुने उनले बताए।
संसद् भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं ।’