धर्मेन्द्र कुमार साह 
रौतहट : संविधान जारी हुनु अघिदेखि नै सुरु भएको मधेस आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन मधेसी नेताहरुले कयौ घोषणाहरु गरी सर्वसाधारण लोभ्याए । आन्दोलनकै क्रममा शहीदभएमा उसका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा पनि गरे । हजारौ सर्वसाधारण आफ्नो ज्यानको बाजी थापेर सडकमा पनि ओर्लिए । तर आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारको अहिले भने बिचल्ली भएको छ । शेख महीरुद्दिन ओस्ता मधेश आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर शहीदभए । बिपन्न परिवारकी उनकी श्रीमती समिना बेगमको अहिले बिचल्ली भएको छ ।

उनको परिवार आर्थिक अवस्थामा निकै कमजोर छ । शहीद शेख महीरुद्दिन ओस्ताका चार भाइ थिए । अब तीन भाइ बाँकी छन् । रौतहट जिल्लाको राजापुर नगरपालिका वार्ड नम्बर ४ बलुवा टोल निवासी शहीदमहीरुद्दिन तत्कालीन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको “ चलु गौर,भरु गौर “ को क्रममा सहभागी हुन् २०७२ भदौ २७ गते गौर आएका थिए । सोही क्रममा गौरको कबीर चोकमा प्रहरीले चलाएको गोली लागि उनि घाइते भएका थिए । गोली लागि घाइते भएका महीरुद्दिनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएपनि उनले राम्रो उपचार पाउन सकेनन् । पुुष १९ गते बिरगंजको नारायणी उप क्षेत्रीय अस्पतालमा उनको मृत्यु भयोे । पछि राज्यले उनलाई शहीदघोषणा गरी क्षतिपूर्ति स्वरुपको रकम दिएपनि हाल उनको परिवारको जीवन कष्टकर बन्दै गएको हो ।

सहीदको घरमा जाँदा शहीद महीरुद्दिनकी श्रीमती समिना बेगम खरले छाएको माटोको घरमा कष्टकर जीवनयापन गर्दैछिन् । श्रीमान बितेपछिको अवस्थाबारे कुरा गर्ने बितिक्कै उनी भक्कानिएर आँशु झर्छिन् । “ आन्दोलन चलिरँहदा कहिलेकाही नेताहरु घुम्न आएसंगै फोटो खिचाए । बिस्तारै आस्वासन दिन आउनेको संख्या घट्दै गयो । अब त कसैलाई मतलब पनि छैन । “ उनले बताइन् । उनले जसोतसो गुजारा चालाएको बताउदै छोराछोरीको उच्च शिक्षा सपना बनेको गुनासो गरिन् । “सुरुमा कहिले नोकरीको आस्वासन दिए , कहिले जीवन धान्न सहयोगको आस्वासन समेत दिए । पछि कोही सोधखोज गर्न नआएको उनको गुनासो रहेको छ । उनले प्रदेश सरकारबाट बाँडिएको भनिएको भैसी सहयोग समेत नपाएको बताइन् । प्रदेश सरकारले शहीद परिवारलाई दुधालु भैसी बितरण गरेको बताउदै आएको छ । भैसी वितरणको क्रममा भैसी खरीददेखि वितरण सम्ममा भ्रष्टाचार र अनियमितता भएको चर्चा पनि हुँदै आएको छ ।

शहीद राजकिशोर ठाकुरको घर इशनाथ नगरपालिकाको वार्ड नम्बर ४ महुलिया टोलमा हो । उनि संबिधान निर्माण प्रक्रियाबाट असन्तुष्ट बनेका तराइ केन्द्रीत दलहरुले आह्वान गरेको आम हडताल र प्रदर्शनमा सहभागी हुन् गौर आएका थिए । गौरको बिपी चोकमा भैरहेको प्रदर्शन हिंस्रक बन्दै गएपछि अपराहन ३ बजेको करिबमा प्रहरीले गोली चलाएका थिए । गोली राजकिशोरको छातीमा लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । उनको मृत्यु हुँदा उनको एक ६ महिनाको छोरीसहित घरमा श्रीमती र बुढी आमा थिइन् । हाल शहीद पत्नी गाउँकै स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकिछन । शहीदकोे नाममा महुलियामै रहेको भारतीय सीमा संगै एउटा प्रवेशद्वार निर्माणाधीन छ । करिब ५ बर्षदेखि सो प्रवेशद्वार निर्माणाधीन नै रहेको छ । बिस्तारै आन्दोलनको प्रभाव घटेसंगै शहीद परिवार जस्तै प्रवेशद्वार पनि अपहेलित हँुदै गएको स्थानीय युवा बिबेक साहको बुझाइ रहेको छ । शहीद राजकिशोर ठाकुरकी श्रीमती अंशु देवी ठाकुरले आफनो श्रीमानको निधनको केही समय पछि इशानाथ गाउँकै स्वास्थ्य केन्द्रमा करारमा कार्यालय सहयोगीको रुपमा काम पाइन् , तर केही महिनासम्म निरन्तर काम गरे पनि उनले पारिश्रमिक नपाएपछि पीडा झनै थपियोे ।

पछिल्लो समयमा नगरपालिकाले उनकोे पारिश्रमिक नियमित गरेको छ । तर शहीद परिवारको हैसियतले पाउनु पर्ने सम्मान समेत गरेको नगर प्रमुख सन्तोष मेहताले बताए । हाल शहीद राज किशोर ठाकुरको श्रीमतीको आजीविका केही सहज देखिएपनि छोरा गुमाएकी आमा बिचल्लीमा परेकी छिन् ।

सदरमुकाम गौरमा डेरा गरी बस्दै आएका सम्स तबरेजको प्रहरी फायरिंगमा ज्यान गयो । २०७२ पुष ५ गते गौरमा संबिधान खारेजीको मांग गर्दै ठूलो संख्यामा बिधार्थी र तत्कालीन मोर्चा समर्थित नेता कार्याकर्ताहरु हिंस्रक प्रदर्शन गर्दै थिए । गौरमा रहेको जुद्ध उच्च मा बि को कक्षा ९ मा अध्यनरत सम्स तबरेज पनि सोही आन्दोलनमा सहभागी थिए । प्रदर्शन चर्किदै गएपछि प्रहरीले गोली चलाउन सक्ने गरी सूचना सम्प्रेषण गरे । तर सो सूचना प्रदर्शनकारीसम्म पुग्नु पूर्व नै गौरको बिपी चोकमा रहेका प्रहरीले गोली चलाए । सोही क्रममा गोली लागि ढलेका सम्स तब्रेजलाई प्रहरीले लाठी र बुटले समेत हिर्काएका थिए । पछि उनलाई अस्पताल पुर्‍याउँदासम्म उनको मृत्यु भैसकेको थियो । हालको परोहा नगरपालिका वर्ड नम्बर ३ तेजापाकड घर भएका फोरोज अख्तरले आफ्नो १७ बर्षीय छोराको लाशमाथि बिलाप गर्नु बाहेक केही उपलब्धी प्राप्त गर्न सकेनन् । उनको अन्तिम श्रद्धाञ्जलीमा बर्तमान प्रदेश सरकारका भौतिक पूर्वाधार निर्माण मन्त्री जितेन्द्र सोनल समेतका नेताहरु सहभागी भएका थिए । तिनै शहीद परिवारलाइ हाल प्रदेश सरकारले चिन्न छाडेको भन्दै जिल्ला तहमा आक्रोश बढ्दै गएको हो । शहीद तावारेजको बुवा र काका कामको लागि भारतको मुम्बैमा थ्उि । उनको परिवारले समेत प्रदेश सरकारबाट बितरण भएको भैसी नपाएको दावी गर्छन् । शहीद तावारेजको हजुरबुवा नुरुल हसनले प्रदेश सरकारबाट कुनै किसिमको सहयोग नपाएको गुनासो गरे । “ शहीदको रगतको बलमा प्रदेश सरकार बनेको हो । आन्दोलनकै भरमा नेताहरु मन्त्री बन्न पाएका हुन् , तर शहीद परिवारलाई तिरस्कार गर्नु दुर्भाग्य हो “ उनको भनाइ छ । उनले सञ्चार माध्यमहरुमा प्रदेश सरकारले जागिर दिने खबर सुनेको बताए ।

२०७२ साउन २१ मा रौतहट सदरमुकाम गौरमा भएको मधेश आन्दोलनको क्रममा बराहवा ताल नजिक सुरक्षाकर्मीले चलाएको गोली लागेर तत्कालीन गा बि स मुडेलवा निवासी विद्यानन्द यादवको मृत्यु भएको थियो । आन्दोलनमा शहीद घोषणा गरी १० लाख पाए पनि यादव परिवारको गुनासो उस्तै छ । ‘मधेस र मधेसीकै अधिकारको लडाइमा भाइको ज्यान गयो,’ उनको दाई उपेन्द्र यादवको भनाइ रहेको छ । , ‘शहीदको रगत र बलीदानीको कदर भएन । बोलेका कुराहरू पूरा भएनन् । यसमा हाम्रो धरै गुनासो छ ।’विद्यानन्दकी श्रीमती राजकली देवीलाई उतिबेलै सरकारी जागिर दिने सरकारले आश्वासन दिएको थियो । प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री कार्यालयले शहीद परिवारका सदस्यलाई नियुक्ति पत्र समेत दियो । उक्त पत्र सामाजिक विकास मन्त्रालयमा दर्ता गरिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको यादवको गुनासो छ । आन्दोलनको क्रममा गोली लागि घाइते बनेका जिउँदो शहीद भनिएका लालबाबु पटेल आफुहरुको योगदानको अवमूल्यन भएकोमा दुखि छन् । तत्कालीन समयमा स्थानीय प्रशासनले लगाएको निषेधज्ञा तोड्ने क्रममा भएको झडपमा उनलाई गोली लागेको थियो । प्रहरीले चलाएको गोली उनको मल्द्वारा मा लागेको थियो । लामो समयको उपचार पछि उनी निको भएपनि धेरै काम गर्न सक्ने अवस्थामा छैनन् ।

शहीद परिवार प्रति प्रदेश सरकारको तर्फबाट हुनु पर्ने ब्यबहार नभएको भन्दै सत्तारुढ दल जसपाकै नेताहरुले स्वीकार गर्छन् । जसपा नेता अनिल कुमार सिंहले शहीद परिवारकै योगदानको भरमा सरकार बनेको स्वीकार गर्दै प्रदेश सरकारले ती परिवार प्रति खेल्नु पर्ने भूमिका खेल्न नसकेको बताए । “ सैद्धान्तिक रुपमा धेरै घोषणाहरु भएको सत्य हो, कार्यन्वन्यनमा जोड दिनु पर्ने हो । सरकारी रवैयाले सरकार प्रति आक्रोस बढदै गएको छ “ उनको भनाइ छ । तर प्रदेश सरकारका एक मन्त्रीले भन्ने ती आरोपहरु सत्य नरहेको दावी गरेका छन् । प्रदेश सरकारका भूमि ब्यबस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले सबै शहीद परिवारलाई भैसी बितरण भएको हुनु पर्ने दावी गरेका छन् । “ डाटा कार्यालयमा होला , एक जना शहीद परिवारको नाम छुटेको थियो तर पछि फेरी उनको परिवारलाई भैसी दिन भनिएको थियो । “ उनको दावी रहेको छ । उनले प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयबाट सबै शहीद परिवारलाई रोजगारीको लागि आशय पत्र दिएको तर शहीद परिवार आफै कार्यालयमा नगएकोले रोजगारी पाउन नसकेको दावी पनि गरेका छन् । आजको टुडे एक्सप्रेस दैनिकमा यो खबर छ । 

२०७७ पुष २४, शुक्रबार ०९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय