जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

जनकपुरधाम–४ स्थित पार्टी कार्यालयमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले भन्नुभयो, “सर्वोच्च अदालतले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।” पूर्वउपप्रधामन्त्रीसमेत रहनुभएका निधिले सर्वोच्चले संसद् विघटनलाई सदर गर्दै मध्यावधि चुनाव गर्ने निर्णय गरे कांगे्रस चुनावमा जान तयार रहेको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्न पनि निर्वाचनमा भाग लिनुपर्छ, निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता हुन्छ ।” नेता निधिले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताउनुभयो ।

२०७७ पुष २७, सोमबार २०:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय