
नेपालवाणी, जनकपुरधाम माघ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशका प्रेणेता स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको स्थापना गरिएको छ । मेची–महाकाली उत्पीडन बिरुद्ध मधेशीको अधिकारको लडाईको सुरुवात गर्दै मधेशी, जनजाती, मुस्लिम, दलित उपर हुने बिभेद सहितका मधेशीको अधिकारको लडाईलाई मेची देखी महाकाली सम्म स्वभिमान यात्राको सुरुवात गरी मधेशीलाई आफनौ अधिकारका लागी लडन प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको हो ।
नेपाल राजनीतिमा बिभेदमा परेका समुदायहरुको अधिकार र पहिचानको नेतृत्व गरिरहेको राजनीतिकर्मी तथा आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा सामाजिक रुपान्तरणको लागि अध्ययन केन्द्र बरदान सावित हुने जनाईएको छ । स्व. गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले विज्ञप्ति जारी गर्दै नयाँ पुस्ताको अध्ययन, अनुसन्धान र सैधान्तिक बहसको थलो निर्माणमा विशेष जोड दिईने संयोजक अनिल महासेठले जनाएको छ ।
महासेठले भने, ‘यो अध्ययन केन्द्र गजेन्द्र नारायण सिंह लोककल्याणकारी प्रतिष्ठान, काठमाण्डौको मातहातमा रही स्थानीय श्रोत र साधनको प्रयोग गर्दै सञ्चालन गरिनेछ । अध्ययन केन्द्र काठमाडौँको अनामनगरमा केन्द्रिय कार्यालय राखी सुरु गरिनेछ । पहिलो चरणमा मधेशको सबै जिल्लाहरु र अधिकतम स्थानिय तह देखि देशैभर यसलाई बिस्तार गरिनेछ ।’
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले वहाँकै स्मृति दिवसमा सप्तरी सहित देशको १७ वटा जिल्लामा “अधिकार पहिचानको संघर्ष र गजेन्द्र नरायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” गर्दैछ । नेपालमा रहेका दुई तिहाई आदिवासी, जनजाती, मधेशी र दलितको आर्थिक र सामाजिक हक अधिकारको लागि आजिबन संघर्ष गर्नुभएका पहिचानबादी नेता स्व.गजेन्द्र नारायण सिंहको नाम अध्ययन केन्द्र स्थापना गरिएको हो ।